निर्माण व्यवसायीहरूको मागप्रति बागमती कांग्रेसको ऐक्यबद्धता, सभापति बानियाँले सहयोग गर्ने

काठमाडौं । बामगती प्रदेश निर्माण व्यवसायी महासंघले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँसँग विभिन्न मागहरू सरकारसँग कार्यान्वयनका लागि आग्रह गरेको छ ।

सभापति बानियाँसँग शुक्रबार भेट गरेर महासंघका अध्यक्ष सुवित श्रेष्ठसहितका पदाधिकारी र व्यवसायीहरूले विभिन्न मागका विषयमा जानकारी गराएका हुन् । महासंघका पदाधिकारी तथा व्यवसायीहरूको मागप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको साथ रहेको सभापति बानियाँले प्रतिवद्धता जनाएका छन् । बानियाँले निर्माण व्यवसायीहरूको माग कार्यान्वयनका लागि आफ्नोतर्फबाट विशेष भूमिका खेल्ने प्रतिवद्धता जनाएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

सरकारले विभिन्न बहाना बनाएर हजारौँ निर्माण व्यवसायीहरूको भुक्तानी गर्न आनाकानी गरिरहेको छ । सरकारको यो निर्णयले देशभरिका निर्माण व्यवसायीहरूको व्यवसायी धरासायी हुने अवस्थामा छ ।

महासंघले सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने माग गरेका छन् । उनीहरूले नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप गर्न पुन: आदेश जारी गर्नुपर्ने माग राखेका छन् ।

महासंघको राष्ट्रिय भेलाले साउन ४ गते प्राधनमन्त्री, विकासे मन्त्रालयका मन्त्रीहरूलाई अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएको छ ।

अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरू अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवम् काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने माग व्यवसायीहरूको छ ।

चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने माग पनि व्यवसायीहरूले राखेका छन् ।

आफ्ना मागप्रति सरकारले ध्यान नदिएमा साउन १६ गतेदेखि निर्माण यन्त्र उपकरण तथा औचारसहित राजधानी केन्द्रित आन्दोलन हुनेछ ।

Published : Saturday, 2023 July 29, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया