हेडक्वाटरबाट डीएसपीको जागिर फुत्कियो, गृहमा अल्झियो

काठमाडौं । ईलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका केसीलाई बर्खास्तको सिफारिस भएको केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपियाँ नगद, ९ लाख ५० हजार रुपियाँको चेक लगायत बरामद गरेको थियो ।

छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले केसीलाई फौजदारी कसूर अन्तरगत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो ।

प्रहरी प्रधान कार्यालयले गृहमा उनलाई बर्खास्त गर्न सिफारिससहित पत्राचार गरेको छ । एक महिना पुग्न लागेपनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले केसीलाई बर्खास्त गर्ने कुनै निर्णय गरेका छैनन् ।

Published : Monday, 2023 July 24, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया