एक सय किलो सुन तस्करीबारे दीपक मलहोत्राको के छ भनाइ ?

काठमाडौं । बेलाबेला विवादमा आइरहने व्यवसायी दीपक मलहोत्राले आफूविरुद्ध आएका समाचारको खण्डन गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मलहोत्राले कसैसँग मिलेर सुनको कारोबार नगरेको दाबी गरेका छन् । उनले सय किलो सुन आयात काण्डमा कुनै साझेदार नभएको बताए ।

नेपाली मिडियामा सय किलो सुन काण्डमा संलग्न भएको भन्ने समाचार आएपछि उनले खण्डन गरेका छन् ।

उनले आफू र आफ्ना परिवारका सदस्यहरू कसैले पनि त्यस्तो कारोबारका लागि कुनै भुक्तानी पठाउने काम नभएको बताएका छन् ।

मलहोत्राले कुनै साझेदार वा कर्मचारीका नाममा कुनै पनि त्यस्तै वस्तु आयातमा संलग्न नभएको बताएका छन् ।

उनले अहिले पक्राउ परेकाहरूसँग आफ्नो कुनै चिनजानसमेत नभएको दाबी गरेका छन् ।

आयात गरिएको कुनै पनि वस्तु भन्सारबाट छुटाउने क्रममा आफ्नो संलग्नता नभएकोसमेत मलहोत्राले जनाएका छन् ।

उनले आफू र आफ्नो परिवारको कारोबार कानून बमोजिम पारदर्शी भएकोसमेत उनले बताएका छन् ।

मलहोत्राले खण्डन प्रकाशन र माफी नमागे कानूनअनुसार अगाडि बढ्ने चेतावनी दिएका छन् । विगतमा पनि व्यापारी मलहोत्राको नाम सुन तस्करी काण्डमा मुछिएर आएको थियो ।

Published : Friday, 2023 July 21, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया