स्वास्थ्यमन्त्री बस्नेत र बेलायतका राज्यमन्त्री क्वीन्सबीच भेटवार्ता

लण्डन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र बेलातका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ ।

सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गरेका छन् । उनले आगामी दिनमा सहयोगमा बेलायतबाट थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लण्डनले जनाएको छ ।

नेपाल र बेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सका लागि रोजगारीसम्बन्धी सम्झौताप्रति बस्नेत र क्वीन्सले खुसी व्यक्त गरेका छन् ।

मन्त्री बस्नेतले नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न बेलायतसँग अनुरोध गरेका छन् ।

बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरेको दूतावासले उल्लेख गरेको छ ।

स्वास्थ्य बस्नेत मन्त्रीले आइतबार विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरूको तालिम तथा स्थानान्तरण प्रक्रियाका बारेमा जानकारी लिनुभएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बताएका छन् ।

भेटवार्तामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी थिए । मन्त्री बस्नेत असार २९ गते बेलायतको भ्रमणमा आएका हुन् ।

Published : Tuesday, 2023 July 18, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया