लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा कमैया मुक्ति दिवसमा शुभकामना प्रदान

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्ति दिवसको अवसरमा शुभकामना दिएका छन् ।

मंगलबार शुभकामना सन्देश जारी गरेर मुख्यमन्त्री चौधरीले मुक्त कमैया दिवसका अवसरमा विशेष गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई स्मरण गरेका छन् । २३ वर्ष अगाडि देउवा प्रधानमन्त्री भएका बेला कमैयाहरूलाई मुक्त गराउने निर्णय सरकारले गरेको थियो ।

चौधरीले भनेका छन्, ‘आज मुक्ति दिवस, जमिनदारको घरमा कमैया बस्ने कमैयाहरू मुक्त घोषणा भएको दिन ।’

‘विक्रम संवत २०५७ साल साउन २ मा नेपाल सरकारले कमैयाको नामबाट प्रत्यक्ष वा अप्रत्यक्ष वा कुनै पनि तरिकाले असहाय तथा अशिक्षित श्रमिकलाई काममा लगाउनु पूर्णत: गैरकानूनी घोषित गरि कमैया मुक्तिको उद्घोष गरेको थियो’, उनले भने, ‘त्यहि दिनलाई मुक्तिको दिनको रुपमा मनाउँदै आइएको यस दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले भने, ‘सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट नेपालको पश्चिम तराईका ५ (दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर) जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाख जना मुक्त भएका थिए ।’

‘सरकारका बिभिन्न प्रयास भएपनि मुक्ति दिवसको समयमा जन्मेको एउटा सन्तान अहिले २३ वर्षको लक्का जवान भइसक्दा समेत साढे २७ हजार मुक्त कमैया परिवारका लाखौं जनाको व्यवस्थापन र पुुनस्र्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेकोमा म संवेदनशील समेत भएको छु’, मुख्यमन्त्री चौधरीले भनेका छन् ।

‘उहाँहरूको पुनस्र्थापन र व्यवस्थापनको पक्षमा सबै एक भएर थप लागि पर्ने अवस्था आएको छ’, चौधरीले भनेका छन् ।

‘कमैया आन्दोलनको प्रभावले तत्कालीन अवस्थामा सहयोग गर्नु हुने पूर्वप्रधानमन्त्री ज्यूहरू, राजनीतिक शीर्ष नेतृत्व, मन्त्रीहरू, आन्दोलन सफल बनाउन अग्रणी भूमिका खेल्ने आम सञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर तत्कालीन अवस्थामा सहयोग गर्ने मार्टिन चौतारी लगायतका संघ सस्थाहरूप्रतिको सहयोग स्मरण गर्दछु’, उनले भनेका छन् ।

‘आन्दोलनको अभिभावकत्व ग्रहंणगरी आन्दोलनमा समेत सहभागि भइ सफल बनाउन सहयोग पुर्‍याउने पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूप्रति कृतज्ञता व्यक्त गर्दछु’, मुख्यमन्त्री चौधरीले भनेका छन् ।

मुख्यमन्त्री चौधरीले कमैया मुक्त दिवसका अवसरमा कमैया आन्दोलनका अगुवा पहिलो विद्रोही नेता राजदेव चौधरीलाई स्मरण गरेका छन् ।

२३ वर्षपछि कति मुक्त कमैयाको पुनस्र्थापना भयो ? कतिको पुनस्र्थापना हुन बाँकी छ ? बाँकीको पुनस्र्थापनाका लागि के हुँदैछ ? यी प्रश्नहरू जगजायर रहेको उनले बताएका छन् ।

ती समस्या समाधानका लागि तीन तहका सरकार अझै पनि गम्भीर हुनुपर्ने चौधरीले बताएका छन् । लुम्बिनी प्रदेश सरकार मुक्त कमैयाका विषयमा पूर्णरुपमा गम्भीर रहेको जनाएका छन् ।

‘आजको दिनले मुक्त कमैयामा उत्साह, उर्जा र श्रृजनशीलता बढाउन थप प्रेरणा प्रदान गरोस् भनी शुभेच्छसहित मुक्त कमैयाहरूलाई स्वरोजगार बनाउने, उनीहरूको उत्पादन र सीपलाई बजारसम्म पुर्‍याउने अभियानमा कमैया आन्दोलनको अभियान्ताको हैसियतले संगै रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु’, उनले भनेका छन् ।

Published : Tuesday, 2023 July 18, 7:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया