गुठीचौरमा कम्युनिस्ट उपाध्यक्ष शान्तिले उत्पात मच्चाइन्, प्रहरीद्वारा नियन्त्रण

गुठीचौर । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमा हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपाध्यक्ष भण्डारी गाउँपालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकी थिइन् । उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ । अध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उपाध्यक्ष मल्ल नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएकी छिन् ।

गाउँपालिका प्रवक्ता अर्जुन महताराले उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेको बताएका छन् ।

गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले बताए ।

कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन । सोमबार बिदा परेकाले मङ्गलबार कार्यालय खुल्ने वित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताएका छन् ।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि गाउँपालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताएका छन् ।

उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताए आरोप लगाएकी छिन् ।

कार्यपालिकाको बैठकले कुटपिटको घटनाप्रति दु:ख व्यक्त गरेको छ । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ ।

घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताएका छन् ।

Published : Monday, 2023 July 17, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया