काठमाडौंमै किलो गाडेर बस्न खोज्ने स्वास्थ्यकर्मीको आत्महत्याबारे मन्त्रालयले दियो तथ्य कुरा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रशासनिक सुधार अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडिएको भन्दै असन्तुष्टि जनाएको छ ।
बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतद्वारा शुरु गरिएको सुधारको कार्यलाई आत्महत्यासँग जोडेकोमा असन्तुष्टि जनाइएको छ ।
मन्त्री बस्नेतले एक स्वास्थ्यकर्मीका विषयमा दिएको अभिव्यक्तिलाई आत्महत्यासँग जोडेर सामाजिक सञ्जालमा प्रचार भइरहेको भन्दै मन्त्रालयले खण्डन गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्षौदेखि सुगममा मात्र जनशक्ति थुप्रने, दुर्गममा अभाव हुने बेथितिको सुधार एवं निर्मलीकरण, दुर्गममा काम गरिरहेका स्वास्थ्यकर्मीहरूको मनोबल बढाउने र दुर्गममा पनि स्वास्थ्यका जनशक्ति पुर्याउने अभियान चलाइरहँदा प्रशासनिक सुधारका क्रियाकलापलाई आत्महत्याजस्ता संवेदनशील विषयसँग जोडेर समाचार सम्प्रेषण नगर्नु हुन सम्बद्ध सबैमा मन्त्रालयको हार्दिक अनुरोध छ ।’
यो प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेतले बिहीबार राष्ट्रिय सभा बैठकमा आफूले पनि प्रष्टीकरण दिएका थिए । बस्नेतले एक स्वास्थ्यकर्मीले काठमाडौंमा दरबन्दी हुँदाहुँदै नुवाकोट गएको र काज फिर्ता गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा नै बस्न पाउनुपर्ने भनेर मन्त्रालयका सचिवहरूलाई आत्महत्याको धम्की दिएको बताए ।
‘ट्रमा सेन्टरमै चाहिन्छ भएन भने आत्महत्या गर्छु भनेर मेरो मन्त्रालयको सचिवहरूकोमा कराउन थालेछ’, मन्त्री बस्नेतले भने, ‘के गर्ने आत्महत्या गर्छु भनेको छ भनेर सचिवहरू डराएपछि आफूले यो सबै नौटंकी हो, नाटक हो, कडाइका साथ प्रस्तुत हुनुस् भनेँ ।’
मन्त्री बस्नेतले भने, ‘म ढाँट्दिन तपाईंकोमा (आत्महत्या) गर्छु भनेको भए मकहाँ पठाइदिनुस् भनेको हो ।’
मन्त्रालयका सूचना अधिकारी डा.पवनकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ती स्वास्थ्यकर्मीले ट्रमा सेन्टरमा नै काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक पटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा उनी तोकिएकै ठाउँमा जाउन् भन्ने उद्देश्यले मन्त्रीबाट त्यस्तो भाषा प्रयोग भएको छ ।’
मन्त्रालयले वर्षौंदेखिको विकृतिलाई समाधान गर्न असल मनसायका साथ गरिएको प्रयासमा धम्कीपूर्ण भाषाको प्रयोग, खटाएको ठाउँमा नजाने जस्ता गतिविधि देखिएको भन्दै यस्ता गतिविधिले अनवरत सेवामा खटिने स्वास्थ्यकर्मीको भावनामा असर पर्ने बताएको छ ।
उता, स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका छन् ।
त्यसपछि ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले पनि सरुवाको चिठी नबुझेको भनेर सुन्न नपरेको मन्त्री बस्नेतको भनाइ छ । आजको राष्ट्रिय सभा बैठकमा मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।
कतिपयले सरुवा गरिएको ठाउँमा जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि आफू आक्रामक रुपमा प्रस्तुत हुनुपरेको मन्त्री बस्नेतले बताए ।
पटक पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जान भन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुण्डिएर मर्ने भनेपछि आफूले झुण्डिन पठाइदेऊ भनेको उनले बताए । मन्त्री बस्नेतले भने, ‘केही नलागेपछि अन्तिममा आएर झुण्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुण्डिन मैले भनेकै हो ।’
त्यसपछि उनले तुरुन्तै चिठी बुझेको र सरुवा गरिएको अस्पतालमा गएर काम गरिरहेको मन्त्री बस्नेतले बताए । ‘यति नगर्या भए जाँदैजाँदैन थिए । अहिले सबै हिँडिराखेका छन् । फटाफट हिँडिराखेका छन् । त्यो बेलादेखि चिठी बुझेन है भन्ने देखिएको छैन,’ उनले भने ।
उनले डोल्पाको मान्छे काठमाडौं आएर १० वर्ष बसिसकेको र सरुवा गर्दा पनि जान नमानेको उदाहरण दिए ।
बिचार/ब्लग
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया