बालुवाटार जग्गा काण्डमा जथाभावी हुन थालेपछि व्यूरो बोल्यो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले विज्ञप्ति जारी गरेर केही सञ्चारमाध्यम रसामाजिक सञ्जालहरूमा असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूको नाम समेत जोडी अतिरञ्जित र भ्रामक समाचार सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक सञ्जालहरूमा प्रस्तुत कसूरको तथ्यगत विषयहरूलाई अन्यत्रै मोडी कसूरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूको नाम समेत जोडी अतिरञ्जित र भ्रामक रुपमा केही समाचार तथा विज्ञप्तिहरूमा प्रकाशित सामग्रीप्रति यस व्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘मिति २०८०/०३/१२ गतेदेखि बालुवाटारस्थित नेपाल सरकारको (ललिता निवासको १४३ रोपनी) जग्गा संगठित रुपमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण समेत गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरु उपर केन्द्रीय अनुसन्धान व्यूरोबाट सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको व्यहोरा अवगत नै छ’, व्यूरोले भनेको छ ।
‘प्रस्तुत कसूरको अनुसन्धानको क्रममा विभिन्न निकाय र महानुभावहरुबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरुप दिने कार्यमा थप प्रेरणा मिलेको छ र भविष्यमा समेत सहयोगको निरन्तरता रहने विश्वास लिएका छौं’, विज्ञप्तिमा व्यूरोले जनाएको छ ।
‘हाल यस व्यूरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रुपमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं’, प्रहरीले भनेको छ ।
‘प्रस्तुत कसूरमा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति तथा पदाधिकारीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षा गर्दै तथ्यपरक, निष्पक्ष र व्यावसायिक रुपमा प्रस्तुत कसूरको अनुसन्धानलाई अगाडि बढाउने कार्यमा हामी पूर्ण प्रतिवद्ध रहेको समेत सबैमा अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
केही सञ्चारमाध्यमहरूले असम्बन्धित व्यक्ति र उच्चपदस्थलाई जोडर जथाभावी समाचार लेखेपछि व्यूरोले ध्यानाकर्षण भएको जनाएको छ । व्यूरोले सामाजिक सञ्जालमा जथाभावी नलेख्न पनि सचेत गराएको छ ।

बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया