सञ्चार मन्त्रालयका सचिव एयरपोर्टबाट पक्राउ

काठमाडौं । अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राउतलाई पक्राउ गरेको हो । राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको व्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बताएकी छिन् ।

फौजदारी आरोपमा पक्राउ पर्ने राउत नेपाल सरकारका दोस्रो बहालवाला सचिव हुन् ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकणरमा सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

राउत माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्ने नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने

निर्णय गर्दा राउत भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए । प्रधानमन्त्री निवास विस्तार गर्नेसम्बन्धी निर्णयको टिप्पणी राउतले उठाएका थिए ।

बालुवाटार जग्गा प्रकरणमा सीआईबीले आइतबार अन्य दुई जनालाई पनि पक्राउ गरेको छ । बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १२ पुगेको छ ।

पक्राउ पर्नेमा ध्रुवप्रसाद अर्याल र लोकहरि घिमिरे छन् । अर्याल र घिमिरेलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।

आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । त्यतिखेर घिमिरे समरजंग कम्पनीका प्रमुख थिए ।

Published : Sunday, 2023 July 9, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया