कांग्रेसका पूर्वसांसद गुरुङको निधन, सभापति देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद लालकाजी गुरुङको निधन भएको छ ।

नेपाल भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्ष रहेका गुरुङको शनिबार काठमाडौंमा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइतबार गुरुङको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । गुरुङ भारतीय सेनाका पूर्व कर्णेल हुन् ।

गुरुङ २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य रहेका थिए । स्व.गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले स्मरण गरेको छ ।

गुरुङको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

गुरुङको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् । स्व.गुरुङद्वारा पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरिएको सक्रिय भूमिकाको स्मरण गर्दै देउवाले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सभापति देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Published : Sunday, 2023 July 9, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया