प्रदेश सांसद महर्जनको प्रश्न- मन्त्रीज्यूहरू जंगबहादुर नबन्नुस्, खेलकुदमा बजेट खोइ ?
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभाका सदस्य (सांसद) मीनकृष्ण महर्जनले मन्त्रीहरूलाई जंगबहादुरुका रुपमा आफूलाई नलिन चेतावनी दिएका छन् ।
मंगलबार बसेको बागमती प्रदेश सभाको बैठकमा आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद महर्जनले आफ्नो क्षेत्रमा बजेट नदिएर अन्याय गरिएको बताए । उनले आफू खेलकुद क्षेत्रबाट आएको भन्दै खेलकुदको विकास, खेलाडी र प्रशिक्षकका लागि एकपैसा बजेट नदिएकोमा चिन्ता जनाए ।
उनले भने, ‘हाम्रो कोही मन्त्रीहरू यस्ता छन् । आफूलाई जंगबहादुर ठान्छन् । बोल्नलाई पैसा तिर्नुपर्दैन । नमस्कार गर्दा पनि नमस्कार फार्किदैन ।’
‘त्यो माननीयज्यूलाई हेक्का होस् हाम्रो मतले मन्त्री भएको हेक्का होस्’, कांग्रेसका सांसद महर्जनले भनेका छन् ।
सिलिङभित्र रहेर बजेट माग्दा पनि आफ्नो क्षेत्रमा बजेट नपरेपछि पीडा पोख्दै सांसद महर्जनले भने, ‘मलाई नारायणगोपालको पनि याद आउँछ । मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ । बाध्यता छ ।’
‘सत्तापक्षको माननीय । पीडा धेरै छ’, महर्जनले भने, ‘मधुकुमार श्रेष्ठजीले सबै जिल्लाको नाम लिनुभयो भक्तपुर र ललितपुर छुटाउनुभयो । ललितपुरमा बजेट परेको छ । भक्तपुरमा बजेट परेको छ । तपाईले भक्तपुर र ललितपुरमा ६ वटा, ७ वटा, ८ वटा बजेट परेको भन्नुभएको छ’, उनले भने, ‘अनि ! ललितपुरमा परेको कति हो ? अनि ! भक्तपुरमा परेको कति हो ? त्यो पनि भनिदिनु पर्यो नि !’
उनले भने, ‘ललितपुर जिल्ला यस्तो हो मैले पटक–पटक भन्दै आइरहेको छु । बास्तवमै भन्नु पर्दा दोस्रो कर्णाली हो । जहाँ बिजुलीको समस्या छ । बाटोको समस्या छ । खानेपानीको समस्या छ ।’
‘ललितपुर क्षेत्र नं. १ को माननीयज्यू यहिँ हुनुहुन्छ । समानुपातिकबाट आउनुभएको माननीयज्यू पनि यहिँ हुनुहुन्छ’, उनले भने, ‘सबैलाई थाहा छ । मुख्यमन्त्रीज्यूलाई ज्ञान छ । अर्थमन्त्रीज्यूलाई ज्ञान छ । हाम्रो ललितपुर क्षेत्र नं. १ कस्तो बिकट छभन्ने कुरा । ललितपुर क्षेत्र नं. १ मा बजेट सम्बोधन भएन ।’
सांसद महर्जनले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रलाई निकै अन्याय गरेको गुनासो गरेका छन् । उनले आफू खेलकुद क्षेत्रबाट आएको भन्दै खेलकुदको विकासका लागि दक्ष व्यक्तिलाई मन्त्री बनाउनुपर्ने बताए ।
उनले भने, ‘म खेलकुद ब्याकग्राउण्डको मान्छे । खेलाडी । १२ वर्षको उमेरदेखि खेलकुद क्षेत्रमा लागेको । १३ वर्षको उमेरमा हाम्रो खानेपानी, उर्जा मन्त्री पनि ब्ल्याकबेल्ट हो । हामी सँगसँगै कराते खेलेको हो । उहाँ क्युकुशिनमा, म करातेमा । म करीव दुई दर्जन स्वर्ण पदक ल्याएको व्यक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा । राष्ट्रिय खेलाडी हुँदै, अन्तर्राष्ट्रिय खेलाडी हुँदै, अन्तर्राष्ट्रिय रेफ्री हुँदै, राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष भइसकेको व्यक्ति ।’
‘यहि बागमती प्रदेशले खेलकुदमा विशेष योगदान वापत प्रदेश शान पदकबाट विभुषण गरेको व्यक्ति मै हो’, महर्जनले भने, ‘राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा मुख्यमन्त्री कार्यालयमा मलाई प्रदेश शान पदकबाट विभुषण गरेको हो ।’
उनले भने, ‘हाम्रो मुख्यमन्त्रीज्यूले पनि मन्त्री बनाउँदाखेरी जसको विज्ञता । जसको मन्त्रालयमा ज्ञान छ त्यसलाई मन्त्रालयको जिम्मेवारी दिएको भए हुने थियो ।’
‘मन्त्रीहरूले जुन मन्त्रालय सम्हालेको छ त्यो मन्त्रालयको ज्ञान नै छैन । बिडम्बना’, उनले भनेका छन् ।
‘तपाईहरू भन्नुस् खेलकुदमा हाम्रो ६६ वटा निर्वाचन क्षेत्र छ’, महर्जनले भने, ‘कुन चाहिँ क्षेत्रमा खेलकुदको बजेट परेको छ ? तपाईहरू भन्नुस् त ? हामीलाई सिलिङ छुट्याएको थियो । म खेलकुदको व्यक्ति, खेलाडी । मैले हजारौँ खेलाडीहरू जन्माएको छु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हजारौँ खेलाडी जन्माएको छु ।’
उनले भने, ‘आठौँ सागगेममा स्वर्ण पदक ल्याएका खेलाडी जन्माएको छु । एसियन गेममा पदक ल्याएका खेलाडी जन्माएको छु । खेलकुदमा बजेट सम्बोधन भएको छैन ।’
‘आज खेलाडीहरूले मलाई प्रश्न गरिरहेको अवस्था छ । खै त खेलकुदमा बजेट परेको ? बजेट खेलकुदमा मात्रै होइन, सडकमा बजेट परेन । धेरै शीर्षकमा बजेट परेन’, उनले भने, ‘हामीले बागमती प्रदेशलाई समृद्धिको प्रदेश भन्ने । नमूनाको प्रदेश भन्ने कल्पना गरिरहेका छौँ । यसरी सम्भव छ ? सम्भव छैन नि ?’
प्रदेश सांसद महर्जनले भने, ‘अहिले वर्षात शुरु भएको छ । मेरो क्षेत्रमा सरकारी स्कुल थुप्रै छ । ती विद्यार्थी दुई घण्टा, तीन घण्टा हिँडेर स्कुल जान्छन् । बाटो छैन । वर्षात शुरु भइसक्यो । छाना प्वाल परेको छ । स्कुलमा पढ्ने स्थिति छैन । यस्तो पीडा छ । त्यहाँका जनताको । यो पीडा कसले सुनिदिने ?’
बागमती प्रदेश सरकारमा आफ्नै पार्टी कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा अर्थमन्त्री छन् । तैपनि बजेट वितरणमा अन्याय भएपछि प्रदेश सांसद महर्जनले प्रदेश सभा बैठकमा आक्रोश पोखेका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया