असहमति छभने पार्टीभित्र राखौँ, मिडियाबाजी नगरौँ : जितजंग बस्नेत

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डिला संग्रौला र जितजंग बस्नेतसँग न्यूयोर्कमा अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा चर्चा परिचर्चा भएको समितिका अध्यक्ष आनन्द विष्टले बताएका छन् ।

कांग्रेसको विशेष पहलमा सरकारले गैरआवासीय नेपालीले नागरिकता पाउने निर्णय गरेकोमा कार्यक्रममा स्वागत गरिएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रोकेर राखिएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधेयकको अमेरिकामा रहेका नेपालीहरूले स्वागत गरेका छन् ।

सरकारले गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्ला गरेसँगै नेपालमा लगानी गर्नसमेत सहज हुने विष्टले बताएका छन् ।

‘नेपाल हाम्रो मातृभूमि हो । नेपालका नागरिक सरह हामीले पनि जन्मसिद्ध अधिकार पाउनुपर्छ’, विष्टले भने, ‘सांस्कृतिक अधिकार पाउनुपर्छ । हाम्रा यी अधिकारको पूर्णरुपमा सम्बोधन नभए पनि केही कुरा सम्बोधन भएका छन् ।’

नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन् ।

केन्द्रीय सदस्य संग्रौलाले जनसम्पर्क समितिले नेपालको परिवर्तित आन्दोलनमा पुर्‍याएको भूमिकाको चर्चा गरेकी थिइन् ।

नेपालको विकासमा गैरआवासीय नेपालीले खेलेको भूमिका र उनीहरूले परिवर्तनका लागि गरेको आन्दोलन निकै ठूलो रहेको उनले बताएकी छिन् ।

केन्द्रीय सदस्य बस्नेतले पार्टीभित्रका कुरा छताछुल्ल गर्न नहुने बताएका छन् । पछिल्लो समय केही नेताहरूले मिडियामा धेरै बोल्ने र पार्टीभित्र छलफल नगर्ने गरेको बस्नेतले बताएका छन् । उनले यस्तो खाले भूमिकाले पार्टीलाई दीर्घकालसम्म असर गर्ने बताए ।

बस्नेतले आफ्नो लोकप्रियताका लागि सञ्चारमाध्यममा बोल्नुभन्दा कुनै असहमति भए पार्टीमा छलफल गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा कांग्रेसका पूर्वमहासमिति सदस्य श्यामकाजी गुरुङ, महासमिति सदस्य मिर्दुला कोइराला, महासचिव मुनेन्द्रविक्रम नेङ्वाङलगायतले धारणा राखेका थिए ।

Published : Tuesday, 2023 July 4, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया