निजामती कर्मचारीका छोराछोरीलाई करीव १८ करोड बाँड्ने

काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई १७ करोड ८१ लाख ८६ हजार ५ सय ८९ रुपियाँ बाँड्ने निर्णय गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्नातक तहमा पढ्ने विद्यार्थीलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम बाँड्ने निर्णय गरेको हो ।

स्नातक तहमा पढ्ने कूल ६ सय ८७ जना विद्यार्थीलाई उक्त रकम बाँड्न लागिएको छ ।

चिकित्साशास्त्रका १४४ जनालाई ७ करोड १७ लाख, स्वास्थ्य विज्ञान संकायका २९ जनालाई ६४ लाख ८० हजार, इन्जिनियरिङ संकायका २२९ जनालाई ५ करोड ६९ लाख ७ हजार ७ सय ५८ रुपियाँ बाँडिनेछ ।

व्यवस्थापन संकायका ११९ जनालाई एक करोड ४२ लाख ८५ हजार ५ सय ३१ रुपियाँ र सूचना प्रविधि संकायका ५२ जनालाई ९८ लाख २२ हजार ५ सय रुपियाँ वितरण गरिनेछ ।

कृषि विज्ञान संकायका ३६ जनालाई ७७ लाख ६७ हजार दुइ सय रुपियाँ, कानून संकायका ४५ जनालाई ७६ लाख रुपियाँ प्रदान गरिनेछ ।

मानविकी संकायका ११ जनालाई १४ लाख ६२ हजार २ सय ९० रुपियाँ, विज्ञान संकायका १२ जनालाई ११ लाख २० हजार दुई सय ५० रुपियाँ, वन विज्ञान संकायका ५ जनालाई ५ लाख, आयुर्वेद संकायका १ जनालाई तीन लाख रुपियाँ र शिक्षा संकायका ४ जनालाई दुई लाख ४१ हजार ६० रुपियाँ वितरण गर्न लागिएको छ ।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्नातक तह प्रथम वा दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम वितरण गर्न लागिएको बताएका छन् ।

Published : Monday, 2023 July 3, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया