काठमाडौं बस्ने ओखलढुंगाका अमरसहितका ८ जना मान्छेहरू पक्राउ, सबै भरखरका केटाहरू

काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सातघट्टे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ४० ग्रामसहित २ जनालाई बुधबार राति पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा ओखलढुङगाको रातमाटे गाउँपालिका–४ घर भई काठमाडौंको काँडाघारी बस्ने ३९ वर्षीय अमरकुमार खत्री र सर्लाही घर भई काँडाघारी बस्ने २५ वर्षीया मनसुन पाण्डे रहेका छन् ।

अस्थायी प्रहरी विट गागलफेदीबाट खटिएको प्रहरीले प्र.३–०२–०१५ प ४४२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उप–महानगरपालिका–४ रोयल पार्टी प्यालेस अगाडिबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवनको राप्ती नगरपालिका–१ लोथर बस्ने १७ वर्षीय र १४ वर्षीय गरी २ जना किशोरी रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बम्किङबाट लागूऔषध अफिम जस्तो देखिने बस्तु ३ किलो ४ सय ६० ग्राम र नगद ५० हजार रूपियाँसहित मनहरी गाउँपालिका–७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा.५३ प ४५३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष मोटरसाइकल छाडेर फरार भएपश्चात मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकलमा सवार दर्जीलाई पक्राउ गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको सिरहा नगरपालिका–७ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६२ ग्राम २१ मिलिग्राम र डिजिटल मेसिनसहित सिरहा नगरपालिका–२० बस्ने १९ वर्षीय सत्यनारायण कारकसमेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

उनीहरूले प्रयोग गरेको स.१० प ६१७७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

Published : Thursday, 2023 June 29, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया