राजनीतिमा महामन्त्रीहरू र मेरो खर्च कसरी चलेको छ जनताले थाहा पाउनुपर्छ : कांग्रेस नेता थकाली

कांग्रेस नेता थकालीको प्रश्न, ‘युवा महामन्त्रीहरूको नेतृत्वमा तनहुँ र चितवनमा किन हार्‍यौं ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकाली प्रधानमन्त्री बन्नका लागि हतार भयो भनेर रुपान्तरणको कुरा गर्नु उचित नरहेको बताएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वमन्त्री थकालीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफैबाट रुपान्तरण गर्न सुझाव दिएका छन् ।

महामन्त्रीद्वय गगन र विश्वप्रकाशको नेतृत्वमा चितवन र तनहुँमा कांग्रेस किन हार्‍यो भनेर थकालीले प्रश्न उठाएका छन् ।
उनले भने, ‘महामन्त्रीहरू बुढो कांग्रेसले चल्दैन । युवा कांग्रेसहरूले पुस्तान्तरण हुनु पर्‍यो ।’

‘रुपान्तरण हुनु पर्‍यो भन्ने सन्दर्भमा म के भन्छु भने १३औँ महाधिवेशन हाम्रो गगनजी र विश्वप्रकाशजी शेरबहादुरजीलाई जिताउनको लागि मरिहत्ते गरेर लाग्नुभएको हो’, उनले भने, ‘बरु इमान्दारिताका साथ भन्ने प्रष्ट भन्ने मेरो बानी छ । यस पटक म सांसदमा प्रतिस्पर्धा गरिन ।’

उनले भने, ‘उच्च सम्मान गर्दै पार्टी सभापति र संसदीय दलको निर्वाचनमा मैले आजसम्म शेरबहादुरजीलाई भोट हालेको छैन । तर, मैले उहाँलाई सम्मान गर्छु । किन भने नेपालभरिबाट आएको महाधिवेशन प्रतिनिधिले म्याण्डेट दिएको सभापति हो । जस्तो दुबै जना महामन्त्रीलाई म्याण्डेट दिए । आज उहाँहरूको कार्यकाल समाप्त नहुँदै भोलि १५औँ महाधिवेशनमा क्याम्पेनिङका रुपमा जान सक्छु हुन्छ । म पनि जान सक्छु ।’

‘आजको दिनमा विभिन्न बहानामा आफू प्रधानमन्त्री हुन हतारो भएको कारणले, म स्वयं अथवा मलाई अहिले सांसद हुन रहर लाग्यो अथवा प्रधानमन्त्री हुने रहर जाग्यो यो संसद काम छैन भङ्ग गरिदिनुपर्‍यो भनेर मैले भन्न मिल्दैन’, उनले भनेका छन् ।

‘उहाँहरू जिम्मेवारी पदमा हुनुहुन्छ । क्रियाशिलताको हिसाबले भन्ने हो भने सभापति निर्णयक निर्णय लिनुहुन्छ भने महामन्त्रीहरूको भूमिका सभापतिको भन्दा पनि बढि प्रभावशाली हुनुपर्ने हो । तर, उहाँहरूको पदावधिमा तनहुँ किन चुनाव हार्‍यो त ? उहाँहरूकै नेतृत्वमा चितवनमा किन हार्‍यो त ?’, नेता थकालीले प्रश्न गरेका छन् ।

‘रुपान्तरण र बिचार उमेरले निर्धारण गर्दैन । व्यक्ति विशेषको नेतृत्व विशेषको सोँचाइ, गराइले कतिको गतिशील र समयलाई कतिको पछ्याइरहेको छ ? यो युगलाई कति पछ्याइरहेको छ ?’, उनको भनाइ छ ।

‘मलाई पनि त आरोप लाग्न लाग्यो नि ! गगनजी साक्षी हुनुहुन्थ्यो । म चुनाव लड्न पनि मानेको थिएन । मैले टिकट लिन पनि मानेको थिएन’, थकालीले भने, ‘नबुझ्नेले त छोरालाई दियो भन्लान् नि ? आरोप लाग्ला नि त ? यस्तै अराजक अभिभाषण, अराजक गतिविधि र हामी वीपीसँग संघर्ष गरेर आएको अनुशासित कार्यकर्ता हौँ ।’

उनले भने, ‘यहाँ भिडतन्त्र छ । कसरी कुरा गर्दा भिड आउँछ ? त्यसले प्रजातान्त्रिक आन्दोलनलाई बलियो गर्छ कि गर्दैन ? वीपीले भन्नु हुन्थ्यो भिडले के भन्छ भन्ने कुरातिर नजाउ । भिडलाई तिमीले के भन्नुपर्छ भन्नेतिर जाउ भन्नु हुन्थ्यो ।’

‘राजनीतिक क्षेत्र एउटा बेइमानीहरूको समूहले भरिन थाल्यो । असल चरित्रका असल बिचारका व्यक्ति पनि छन् । तिनीहरू ओझेलमा परेका छन्’, पूर्वमन्त्री थकालीले भनेका छन् ।

‘कसैलाई प्रधानमन्त्री बन्न हतार भयो भनेर पुस्तान्तरणको कुरा गरेर हुन्छ ? हुँदैन । पुस्तान्तरणको सम्भावना छ । जसरी मैले ६३ वर्षको उमेर हुँदा हुँदै तीन जना युवाहरूलाई बहिर निकाले । यी तीन जनामा सबैभन्दा जेठो ३९ वर्षको छभने दोस्रो ३५ वर्षको छ । तेस्रो योगेश गौचन थकाली ३० वर्षमा प्रवेश गर्नुभयो’, उनले भनेका छन् ।

‘उहाँहरू आफू छाड्दै नछाड्ने ? अनि आफ्ना ससुरा, भाइ, सालोलाई समानुपातिकबाट मन्त्री एउटै क्याबिनेटमा ज्वाइँ ससुरा पनि देखेकै हुँ । कहाँबाट हुन्छ परिवर्तन ? सोँचमा परिवर्तन चाहियो’, उनले भनेका छन् ।

‘महामन्त्रीहरूले पार्टीमा कति रुपान्तरण गर्नुभयो ? आफू मात्रै रुपान्तरण भएर भएन । १३औँ महाधिवेशनमा गगनजीले कृष्णप्रसाद सिटौलाको गुट लड्नुभयो । ४/५ सय मत लिनुभयो । कृष्णप्रसाद सिटौलाको गुटबाट स्वास्थ्यमन्त्री हुनुभयो । छोडिदिनुभयो’, नेता थकालीले भनेका छन् ।

उनले भने, ‘०६२/६३ को आन्दोलनपछि ०६४ सालमा रामचन्द्र पौडेलजीले नोटअफ डिसेन्ट लेख्नुभयो । गगनजीलाई समानुपातिकमा ल्याएन भने नोटअफ डिसेन्ट लेख्नुभयो । उहाँ रामचन्द्रजीको बिचारधारामा रहनुभयो ? गगनजीले मिडियामा रहेको नेटवर्कलाई दुरुपयोग गरिरहनुभएको छ ।’

पूर्वमन्त्री थकालीले भने, ‘गगनजीले विद्यार्थीको राजनीति कसको जगमा उभिएर गर्नुभयो ? मुस्ताङमा राम्रो भाषण गर्‍यो भन्दैमा रोमी गौचन थकालीलाई भोट हाल्ने हो ? रोमी गौचनको गतिविधिलाई हेर्ने हो । रोमी गौचनको चुनावी खर्च कहाँबाट आउँछ ? घरको खर्च कहाँबाट आउँछु ? एकएक कुरा हेर्नुपर्ने हो । म कृषि गर्छु, होटल व्यवसाय गर्छु, पैतृक सम्पत्ति छ तैपनि धौधौ छ । जसले केही काम पनि गर्दैन । यत्रो घुमफिर गर्छन् त्यो पैसा कहाँबाट आउँछ ? नेपाली नागरिकले एक–एक लेखाजोखा गर्नुपर्दैन ? आफूमा भैँसी हिँडेको नदेख्ने ।’

‘उहाँहरूले त्याग देखाउन सक्नुपर्छ । गगन र विश्वजीले ३/४ पटक अवसर पाइसक्नुभएको छ । युवा भनेको ४० वर्षमुनिलाई मनिएको छ । युवा भनेर ४० वर्षमुनिकालाई मात्रै ल्याउँछौँ भनेर सहिछाप गरौँ न । मलाई पनि कांग्रेसमा युवा नेता नै भन्छन् त ! युवा र बृद्ध भन्ने कुरा उसको सक्रियता र गतिशीलता, उसको सोँचको रुपान्तरणले गर्छ’, उनले भनेका छन् ।

‘स्टन्टवाजी गरेर घुमाइफिराइ आफै नेतृत्वमा आउने कुरामा म सहमत छैन’, उनले भनेका छन् । उनले भने, ‘महामन्त्रीहरू भित्रभित्रै मन्त्री बन्न खोज्ने । बाहिर मन्त्री चाहिँदैन भन्ने ।’

Published : Wednesday, 2023 June 28, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया