आयोगद्वारा बिहीबार सार्वजनिक विदाको सिफारिस

काठमाडौं । मुस्लिम आयोगले ईद उल अजहा (बकर ईद)को अवसरमा बिहीबारका लागि सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका शाखा अधिकृत दयाराम तिवारीले गृह मन्त्रालयलाई आइतबार पठाइएको पत्रअनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिन सिफारिस गरिएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि आगामी बिहीबार बकर ईद परेको भन्दै सार्वजनिक विदाका लागि सरकारसँग अनुरोध गरिएको बताएका छन् ।

आयोगको पत्रमा भनिएको छ, ‘मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईद उल अजहा (बकर ईद)को सम्बन्धमा खण्ड ७२, संख्या ६५, राजपत्र भाग ५, मिति २०७९/१२/०२ को नेपाल राजपत्रमा विक्रम संवत २०८० सालको विदा उल्लेख भएको र मिति २०८०/०३/१४ गते बिहीबारका दिन ईद उल अजहा (बकर ईद) पर्ने भएकोले उक्त दिन सार्वजनिक विदा घोषणाको व्यवस्था गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’

Published : Monday, 2023 June 26, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया