पोखरामा मनाइयो योग दिवस, उच्च अधिकारीहरू सहभागी

काठमाडौं । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौंले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रंगशालामा योग कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार ‘वसुधैव कुटुम्बकमका लागि योग’ अर्थात ‘एकविश्व एक परिवार सबैको कल्याणका लागि योग’ नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सँस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किराँती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यसहित २००० भन्दा धेरै योग पारखीहरूको कार्यक्रममा उपस्थिति थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरालाई रोजेकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिएका छन् ।

पाण्डेले सारा विश्वले योगलाई मानसिक शान्ति, खुशी र मानव जगतको शान्तिको माध्यमको रुपमा स्वीकारेको बताएका छन् ।

दर्शन, सभ्यता र सँस्कृतिले भारत–नेपाल सम्बन्धलाई सदियौंदेखि परिभाषित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पोखरामा रहेका महत्वपूर्ण धार्मिक क्षेत्रहरू योग अभ्यासका लागि केन्द्र बन्न सक्ने बताएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हरेक वर्ष पोखरामा जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस भव्यसँग मनाउन दूतावासले गण्डकी प्रदेश सरकार, पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकासँग सहकार्य गर्ने बताएका छन् ।

पोखरा महानगरपालिकाले सबैभन्दा बढी पोखरा आउने पर्यटक भारतीय रहेको जानकारी आफूलाई दिएको राजदूत श्रीवास्तवले बताएका छन् ।

उनले पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाउनाले योग केन्द्रित पर्यटनलाई अझ प्रवर्द्धन गर्न सकिने बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विश्वका नेताहरूसँग योग दिवस मनाएका छन् ।

सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७५ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ माअन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

Published : Wednesday, 2023 June 21, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया