राष्ट्रको सम्पत्ति गोमन साप बनेर रक्षा गर्न अर्थमन्त्रीलाई खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसदहरूलाई पाँच करोड दिएको भनेर आलोचना गरिएका विषयमा व्याङ्गात्मक टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको विभिन्न मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै खतिवडाले सांसदहरूले ५ करोड पाएकाले बजेटमा समर्थन गरेर खुसी भएको भनेर व्याङ्ग्य गरेका छन् । सांसदहरूले बजेटमार्फत ५ करोड पाएको भनेर गलत समाचार सम्प्रेषण भएपछि सांसदहरूको आलोचना भएको थियो ।

उनले भने, ‘विनियोजन विधेयकमा सबै मन्त्रालयहरू असाध्यै महत्वपूर्ण मन्त्रालय छन् । अर्थ मन्त्रालयको बारेमा धेरै कुरा गर्नै पर्दैन । जसले बजेट ल्याएको छ हामी बजेट ल्याउँदा कति खुसी भएका छौँ ?’

‘माननीयज्यूहरूले पाँच करोड पाए भनेर बाहिर व्यापक हल्ला भएको छ । त्यही आधारले मात्रै खुसी हुने हो भने त सबै माननीय बेखुसी छैनन्’, उनले भनेका छन् ।

‘बजेटको विरोध गर्नै पर्दैन सबैले समर्थन गरेका छन्’, खतिवडाले भनेका छन् । उनले भने, ‘बजेट विनियोजनमा केही कुरा चर्चामा आएका छन् । हामीले साना साना कुरालाई पनि ध्यान दिनुपर्छ ।’

‘प्याजमा कर लगाउँदाको परिणाम महँगी बढ्छ । यो कुरामा हामीले ध्यान दिएका छौँ कि छैनौँ ? चल्हो बाल्ने बेलामा सबैभन्दा पहिला गाली घरबाटै खानुपर्छ’, उनले भनेका छन् ।

‘त्यो पद्धतिको हामीले नयाँ किसिमले बजेटको परम्परालाई नयाँ किसिमले लैजानुपर्ने अबधारणा पनि आएको छ’, उनले भनेका छन् ।

खतिवडाले भने, ‘हामीले सधैँ बिरालो बाँधेर श्राद्ध गरेको जस्तो परम्परालाई सधैँ पछ्याइरहनु पर्दैन ।’

‘संसदीय व्यवस्थाको मूल मर्मलाई मर्न दिनु हुँदैन’, उनले भने, ‘कतिपय कुराहरूलाई संशोधन गर्नुपर्छ भने पनि समयअनुसार यो पद्धतिलाई परिमार्जन गर्दै लानुपनि आजको आवश्यक्ता हो ।’

उनले भने, ‘संसदबाट सत्ता पक्ष, प्रतिपक्षको कुराबाट होइन । सारा मुलुकको हो भन्ने भावनाका साथ काम गर्न सकियो भने त्यसको उपलब्धी नेपाली जनताको पक्षमा आउँछ ।’

‘यसलाई केही सुधार गर्नु छभने हामीले सुधार गरेर पनि लैजानुपर्छ’, उनले भनेका छन् ।

‘हामीले प्लेनका टिकटहरूमा करको व्यवस्था गरेका छौँ’, उनले भने, ‘यसले गर्दा हाम्रो पुँजी बाहिरिने हो कि ? एउटा कम्युटर इण्डियातिर राखेर त्यहीँबाट टिकट काट्ने, नेपालबाट नकाट्ने प्रवृत्तिको विकास भयो भने हाम्रो पुँजी बाहिर जाने हो कि भन्ने चिन्ता हुन्छ ।’

उनले भने, ‘अर्थ मन्त्रालयको बारेमा धेरै कुरामा प्रवेश गर्न चाहिन । यो जनताको पक्षमा हामीले साना कुराबाट गरेका परिणामले पोजेटिभ म्यासेज दियो भने त्यो अर्थमन्त्री सबैभन्दा सफल हुनेछ ।’

‘सुवर्णशम्शेर जस्तोले शुरुवात गरेको अर्थतन्त्रलाई हामीले योङ्ग अवस्थामा आइपुगेका छौँ । अर्थमन्त्रीले आफ्नो सम्पत्ति जे गरे पनि हुन्छ’, उनले भने, ‘तर राष्ट्रको सम्पत्तिमा कोब्रा जस्तो अथवा गोमन साप जस्तो अरुलाई छेउमा आउन नदिने र रक्षा गर्ने वातावरणमा जानुपर्दछ ।’

शहरी विकास मन्त्रालयबाट भवन र टावर बनाउन ठूलो रकम खर्च भएको भन्दै खतिवडाले ती भवन र टावरहरूको सदुपयोग हुनुपर्ने बताए । धेरै बजेट खर्च गरेर बनेका संरचनाहरू टावर र भवनहरू सदुपयोग नभएको उनले बताएका छन् ।

सांसद खतिवडाले शहरी विकास मन्त्रालयमा सचिवले मन्त्री ल्याउने गरेको टिप्पणी गरेका छन् । उनले भने, ‘अन्त मन्त्रीले सचिव ल्याउँछ भन्ने चलन थियो । यहाँ चाहिँ सचिवले मन्त्री ल्याउन् कि जस्तो देखिन थाल्यो । कारण के हो मलाई थाहा छैन ।’

सांसद खतिवडाले भने, ‘स्रोत केन्द्रबाट पानी ल्याउने पद्धतिको विकास गरौँ । लिफ्टिङ पद्धति दिगो पनि नहुने महँगो पनि हुने भयो ।’

उनले भने, ‘करोडौं रुपियाँ खर्च हुने भयो । उदाहरणका लागि यहाँबाट रकम छुट्टिन्छ । मेरो जिल्लामा ट्याङकी निर्माण गर्नका लागि भनेर ओखलढुंगामा रकम छुट्टाएर पठाइयो । त्यहाँको डिजी सापले पाइप किनिदिनुभयो । ट्याङ्की निर्माण भएन । ट्याङ्की निर्माणमा भन्दा पाइप किन्नमा रमाइलो लागेछ डिजी सापलाई ।’

Published : Wednesday, 2023 June 21, 12:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया