मन्त्री समेत रहेका कांग्रेसका लोकप्रिय नेताको दुर्घटनामा निधन

काठमाडौं । नेपाली कांग्रेस बझाङका पूर्व सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा निधन भएको छ ।

आफ्नो गृह जिल्ला बझाङ जाने क्रममा मंगलबार सवारी दुर्घटनामा परी सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको निधन भएको हो ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कानूनमन्त्री सिंहको दुर्घटनामा निधन भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

खड्काले भने, ‘लामो समयसम्म नेपाली कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले कार्य गर्नुभएको थियो । स्वर्गीय सिंहले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।’

‘उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ’, कार्यबाहक सभापति खड्काले भनेका छन् ।

खड्काले भने, ‘नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ ।’

‘स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।’

‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, उनले भनेका छन् ।

‘दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, कांग्रेसका कार्यबाहक सभापति खड्काले भनेका छन् ।

कानूनमन्त्री सिंहको निधनबाट कांग्रेसले सुदूरपश्चिम प्रदेशमा एउटा सांसद पद पनि गुमाएको छ ।

Published : Tuesday, 2023 June 20, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया