यी नायव सुब्बा भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरेको छ ।

सोमबार विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले गुप्तालाई चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । गुप्ताविरुद्ध भ्रष्टाचारका पाँच वटा मुद्दामा फैसला भएको छ । त्यसमध्ये गुप्ताले एउटा मुद्दामा सफाइ पाएका छन् ।

नायव सुब्बा गुप्तासहितका कर्मचारीहरूले ३ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर भएका थिए ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले नायव सुब्बा गुप्तासहित पाँचजनाउपर दायर मुद्दामा आंशिक ठहर हुने फैसला भएको बताएका छन् । मालपोतका लेखापाल युगलकिशोर ठाकुर र नायव सुब्बा शत्रुधन राउतलाई विशेषले सफाइ दिएको छ ।

विशेष अदालतले नायव सुब्बा गुप्तालाई ९ महिना कैद र २५ हजार रुपियाँ जरिवाना हुने सजाय सुनाएको छ । यसै मुद्दामा नीरज गुप्ता र सुनील पटेललाई समेत मतियार कायम गर्दै अदालतले बराबर सजाय सुनाएको छ ।

अदालतले नीरज र पटेललाई जनही साढे चार–चार महिना कैद तथा साढे १२–१२ हजार रुपियाँ जरिवाना हुने सजाय सुनाएको छ ।

कमल खतिवडा, प्रवीण गौतम र अजयकुमार सापकोटासमेत लाई भ्रष्टाचार मुद्दामा सजाय सुनाइएको छ । तीन जनालाई जनही तीन–तीन महिना कैद र १०–१० हजार रुपियाँ जरिवाना भराउने फैसलामा उल्लेख छ ।

खतिवडा र गौतम कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका लेखापाल हुन् । सापकोटा महालेखापरीक्षकको कार्यालय बबरमहलका निर्देशक हुन् ।

उनीहरूले मालपोत कार्यालय कलैयाको आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गर्दा कार्यालयमा रहनुपर्ने सक्कली कागजात नै लुकाएको तथ्यलाई बेवास्ता गरी भए गरेका तथ्यहरू लोप गरी लेखापरीक्षणका आधारभूत सिद्धान्तविपरीत बदनियतपूर्वक लेखापरीक्षण प्रतिवेदन तयार गरेको आरोप अख्तियारले लगाएको थियो ।

गुप्ताले २० कात्तिक ०७४ देखि २८ साउन ०७५ सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी तीन करोड ३७ लाख ९८ हजार रुपियाँभन्दा बढी रकम संकलन गरेको भेटिएको थियो ।

Published : Tuesday, 2023 June 20, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया