‘केइएलएमई’का नक्कली कपडाहरू काठमाडौंमा बरामद

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले कपी राईट उल्लघंन गरेको अभियोगमा दुई जना मानिस पक्राउ गरेको छ ।

आइतबार काठमाडौं महानगरपालिका वडा नं. २२ प्युखास्थित सुजन सिर्जन शिवम् रेडिमेड स्टोरमा प्रहरीले छापामारेको काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

पक्राउ पर्नेमा पर्वतको ठूलोपोखरी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २१ भोटेबहाल बस्ने वर्ष ४४ की सानुमाया र बाराको पिपरपाती पचरौता नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १५ चौमती बस्ने वर्ष ३१ को एमडी उमर अन्सारी रहेका छन् ।

उनीहरूले अन्य कपडाहरूमा ‘केइएलएमइ’ ब्राण्ड उल्लेख गरी अनाधिकृत रुपमा बिक्री बितरण गरेको अभियोगमा उजुरी परेको थियो । उजुरी र सूचना प्राप्त हुनेवित्तिकै प्रहरी वृत्त जनसेवाबाट प्रहरी टोली खटिएको थियो ।

स्टोरमा खानतलासी तथा चेकजाँच गर्दा कपिराइट चोरी गरिएका कपडाहरू बरामद भएका छन् । कपडाहरूमा ‘केइएलएमइ’को लोगो प्रिन्ट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

‘केइएलएमइ’को लोगो मात्र भएको विभिन्न रंगको ट्राउजर, जम्पर, टिसर्ट, हाफ सेन्डो लगायतका कपडा प्रहरीले बरामद गरेको जनाएको छ ।

Published : Monday, 2023 June 19, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया