‘घुमौ लुम्बिनी’का टिकटक विजेताले मन्त्रीबाट पुरस्कार पाए

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘घुमौ लुम्बिनी’ टिकटक च्यालेन्ज प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन् ।

सोमबर काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री किराँतीले विजेता प्रतियोगीलाई नगदसहितको पुरस्कार प्रदान गरेका हुन् ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यसको सेरोफेरोमा रहेका संस्कृति, पर्यटन, भेषभुषा लगायतका सबै कुरा समेटेर लुम्बिनीको महत्व झल्काउने गरी छोटो समयमा अत्याधिक धेरै व्यक्तिहरू माझ पुग्ने उद्देश्यका साथ लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा टिकटक प्रतियोगिता भएको थियो ।

वैशाख १० देखि जेठ २० गतेसम्म भएको ‘घुमौ लुम्बिनी’ टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ का विजेताहरूलाई मन्त्री किराँतीले पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री किराँतीले आफ्नो लुम्बिनीको प्रचार प्रसारका लागि टिकटक च्यालेन्ज प्रतियोगिता प्रभावकारी रुपमा काम गरेको आफूलाई पनि लागेको बताएका छन् । उनले प्रतियोगिताका विजेता र प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यावाद दिएका छन् ।

पुरस्कार वितरण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले लुम्बिनी राष्ट्रको अमूल्य हीरा भएको बताएकी छिन् । उनले लुम्बिनीको महत्व प्रभावकारी रुपमा विश्वसामु फैलाउन नसकेको स्वीकार गरेकी छिन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मीले लुम्बिनीको प्रचार प्रसारका लागि अहिलेको जमाना टिकटक प्रतियोगिताले ठूलो भूमिका खेल्ने बताएका छन् । उनले लुम्बिनीको पर्यटन प्रबर्दनमा टिकटक प्रतियोगिताले टेवा पुग्ने बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले टिकटकको छोटो–छोटो भिडियोबाट धेरै जानकारी पाउन सकिने बताए । उनले अहिलेको प्रविधिको युगमा आफू धेरै बोल्न नचाहने बताए ।

शाक्यले सम्पूर्ण विजेता र सहभागीहरूलाई लुम्बिनीको महत्वको विषयमा २ करोडभन्दा धेरै व्यक्तिको माझमा एकै पटक पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

टिकटक प्रतियोगिता सफल बनाउन इरु टेक (प्रा)लि.ले पनि भूमिका खेलेको थियो ।

Published : Monday, 2023 June 19, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया