मुस्लिम समुदायको विकासका लागि मूलधारको आधुनिक शिक्षा आवश्यक छ : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि मूलधारको शिक्षा आवश्यक रहेको बताएका छन् ।

सोमबार झापा जिल्लाको बाह्रदशी गाउँपालिकाको वडा नं. ४ जनता हाटमा मुस्लिम आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अन्सारीले मदरसा शिक्षासँगै मूलधारको शिक्षा आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘मुस्लिम समुदायको आर्थिक उन्नति, सांस्कृतिक र सामाजिक विकासका लागि मदरसा शिक्षा सँगसँगै मूलधारको शिक्षाको आवश्यक छ ।’

‘मदरसा शिक्षाले मात्रै समुदायको उत्थान र विकासमा योगदान हुन सक्दैन’, अध्यक्ष अन्सारीले भने, ‘मूलधारको आधुनिक शिक्षाको पढाइ उत्तिकै आवश्यक भएको छ ।’

आयोगका अध्यक्ष अन्सारीले मदरसा शिक्षाका साथै मूलधारको आधुनिक शिक्षामा जोड दिएका छन् ।

‘मुस्लिम समुदायको उत्थान र विकासको लागि सशक्तीकरण गर्न निजामती क्षेत्रमा सहभागी गराउन पटक–पटक लोकसेवा तयारी कक्षा सञ्चालन गरेका छौँ’, अध्यक्ष अन्सारीले भनेका छन् ।

‘मुस्लिम समुदायको निजामती क्षेत्रमा प्रवेश र बाक्लो उपस्थिति नहुँदासम्म यो समुदायको समस्याको समाधान हुन गाह्रो हुन्छ’, उनले भनेका छन् ।

मुस्लिम समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि मुस्लिम आयोगले खेलेको भूमिका विषयक जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा आयोगका सदस्य, बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवीप्रसाद चम्लागाइँ, उपाध्यक्ष शान्तादेवी शिवाकोटी, मुस्लिम समुदायका अगुवा, विभिन्न निकायका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2023 June 19, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया