नक्कली प्रोफाइल बनाई बालिकाको चरित्र हत्या गर्ने केटा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ बस्ने किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरूबीच भएको अनलाइन कुराकानी सम्पादन गरी प्रकाशित गरेको उजुरी प्रहरीमा परेको थियो ।

ती किशोरले बालिकासँगको कुराकानीलाई अश्लील तस्बिर र भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई समाजमा बदनाम, बेइज्जत गरेका थिए ।

चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भीक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।

किशोरउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Published : Thursday, 2023 June 15, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया