राँगा र भैँसी छुट्टाउन नसक्ने हामी सांसदहरू असंवेदनशील भयौँ : राजकिशोर यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले राष्ट्रिय राजनीतिमा देखिएको घटनाहरूप्रति चिन्ता जनाएका छन् ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा उनले भने, ‘राष्ट्रिय राजनीतिमा जसरी घटनाहरू घटित भइरहेको छ यसले चिन्तित बनाएको छ । दु:खी बनाएको छ ।’
‘हामी असंवेदनशील हुँदै छौँ । यो नेपाली जनताको भविष्य निर्माण गर्ने जनप्रतिनिधिहरूको सबैभन्दा उच्च संस्था जसरी यहाँको छलफलहरू बरालिएको छ । नेपाली समाज अराजकतातर्फ धकेलिएको छ’, उनले भनेका छन् ।
‘नेपाली जनताको सबै प्रकारको सुरक्षा लिएका सरोकारवालाहरू जसरी कर्तव्यच्युत भएर अहिले नेपालमा गञ्जागोलस्थिति सिर्जना भएको छ यसले हामीलाई चिन्तित तुल्याएको छ’, जसपाका नेता यादवले भनेका छन् ।
‘समग्र परिस्थिति हेर्दा हामी कति गैरजिम्मेवार भए छौँ ? नेपालको प्रधानमन्त्री भारत भ्रमणबाट फर्किदा मलाई उम्मिद थियो त्यो भ्रमणबाट के उपलब्धि भयो ? त्यसमा गम्भीर छलफल होला’, सांसद यादवले भनेका छन् ।
‘तर यो सदन भैँसी र राँगामा/ राँगा र भैँसीमा आफ्नो सबै समय खर्चियो । आज बाहिर चर्चा छ । यो सांसदहरूले के गर्न सक्छ ? जसले राँगो र भैँसी छुट्टाउन सक्दैन, त्यसको पहिचान गर्न सक्दैन । यो बिडम्बना छ’, सांसद यादवले भनेका छन् ।
उनले भने, ‘अर्कोतिर म नेपाली नागरिक हुँ । म नागरिकता पाउँ भनेर आन्दोलनमात्रै छैन । आत्मदाह गर्ने स्थिति सिर्जना भएको छ । रोम जलिरहेको थियो र, कसले बाँसुरी बजाए जस्तै आज हामी यो सदनमा छलफल गरिरहेका छौँ । युवाहरू अब मैले नागरिकता पाइन भने आत्मदाहा गर्छु भनेर अस्ती काठमाडौंमा, हिजो जनकपुरमा त्यो प्रत्यास भयो ।’
‘के हामी केही गर्नुपर्छ । केही पाउनुपर्छ भन्नको लागि सबैलाई आत्मदाहातिर उत्प्रेरित गर्न खोजेको त होइन ? यो समग्र परिस्थिति हेर्दा भारतका एक राष्ट्रिय कविले लेखेको एक हरफ यहाँ उल्लेख गर्न चाहन्छु’, सांसद यादवले भने, ‘जब नास मनुसपर छाता है पहले विवेक मरजाता है । मलाई के लाग्छ भने हाम्रा नेतृत्वको हाम्रो समाजको यो विवेक विस्तारै मर्दै त छैन ?’
सांसद यादवले भने, ‘त्यसका दुई तीन वटा उदाहरण निवेदन गर्न चाहन्छु । हामीले यो संविधानमा राष्ट्रपतिलाई सेरमोनियल राष्ट्रपति भनेका छौँ । नेपालको पहिलो नागरिक भनेर कल्पना गरेका छौँ । सम्मान गरेका छौं । तर, राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्दा उहाँको पुत्लामाथि चप्पल जुत्ता हान्ने यहाँका प्रमुख दलका भ्रातृ संगठनहरू, युवाहरूलाई लगाइएको छ ।’
‘हामीले राष्ट्रपतिलाई कस्तो कल्पना गरेका छौँ ? अस्ती एउटा पार्टीका भ्रातृ संगठनका भुपु सैनिकका ‘सैनिकका खुकुरीले के भन्छ ? प्रधानमन्त्रीको टाउको ले भन्छ’ । कसैको खुकुरीले प्रधानमन्त्रीको टाउको खोज्ने । कसैको युवा संगठनहरूले राष्ट्रपतिमाथि जुत्ता चप्पल प्रहार गर्ने । हुँदा हुँदा त प्रोफेसरहरूमाथि कालोमोसो दल्ने, धम्काउने घृणित कार्यहरू भइहरहेका छन् । हामी कता जाँदै छौँ ? हाम्रो समाज कता जाँदै छ ?’
‘म बडो जिम्मेवारीपूर्वक निवेदन गर्न चाहन्छु यदि नेपाली समाजलाई बचाउने हो भने हामी सबै जना जिम्मेवार बन्नुपर्छ आग्रह गर्न चाहन्छु’, यादवले भने, ‘होइन भने हाम्रो समाज नै डिभोजुलोशनतर्फ जाँदैछ । हाम्रो समाज नै एक प्रकारको बिखण्डनतर्फ जाँदैछ । यसमा सबै जना संयमित हौँ । सम्वेदनशील हौँ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया