मापदण्ड नमान्ने निजी स्वास्थ्य संस्थालाई बन्द गरिदिन्छु भनेपछि शान्त भए : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधारको आवश्यकता देखिएको बताएका हुन् ।

उनले निजी क्षेत्रहरूले पनि स्वास्थ्य मापदण्डहरू पूरा नगरेको बताएका छन् । अटेरी स्वास्थ्य संस्थालाई सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको बताए ।

स्वास्थ्य बीमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बीमा दुवै बुझेको व्यक्ति खोजे पनि पाउन नसकेको मन्त्री बस्नेतले बताएका छन् ।

‘स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेको छैन’, उनले भने, ‘यो बीमा सञ्चालन गर्ने ठाउँमा महत्वपूर्ण व्यक्तिहरू मैले स्वास्थ्य र बीमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, कि स्वास्थ्य बुझेको पाइन्छ कि बीमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन ।’

मन्त्री बस्नेतले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधार गर्नुपर्ने बताएका छन् । उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाइँ चलिरहेको बताए ।

मन्त्री बस्नेतले निजी अस्पतालहरूले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत बताएका छन् ।

उनले भने, ‘नीतिगत रूपमा नै हामी अघि बढ्नुपर्छ । यहाँ त स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाइँ रहेछ ।’

‘निजी मेडिकल कलेजका प्रतिनिधिले हामीले नपाउने भए अस्पताल बन्द गर्छौं भन्नुभयो, मैले मापदण्ड पुगेको छैन, त्यसका टेकेर हान्नुपर्दा सधैंका लागि बन्द हुन्छ भने । त्यसैले कतै पाउँदै नपाएको कतै पाउनेभन्दा बढी सुविधा पाएको बेथितिहरू छन्, त्यसका लागि हामीले कार्ययोजना बनाएर अघि बढेका छौं’, उनले भनेका छन् ।

मन्त्री बस्नेतले स्वास्थ्य बीमाका लागि कार्ययोजना बनाइ अघि बढिरहेको पनि बताएका छन् ।

Published : Sunday, 2023 June 11, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया