सांसद तामाङको प्रश्न : कञ्चनपुरका आरक्ष पीडितको कहिले पुनर्स्थापना हुन्छ ?

काठमाडौं । एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै तामाङले समस्या समाधानका लागि पीडितहरु महिना दिनदेखि राजधानीमा भौतारिरहेको बताए । सांसद तामाङले पीडितको पुनर्स्थापना गर्न सरकारसँग माग गरेका हुन् ।

तामाङले भने, ‘कुरो उठाएको उठायै छु । सरकारले गर्छु मात्र भन्ने । हाम्रो कञ्चनपुर जिल्लाको आरक्ष पीडितहरुको वर्षौदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन ।’

‘नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भनेर आस गरेर अहिले काठमाडौंमा हप्तौदेखि पीडितहरु भौतारिराखेका छन्’, उनले प्रश्न गर्दै भने, ‘सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ ?’

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित पीडित सयौं परिवारको राज्यबाट अझै पुनर्स्थापना हुन सकेको छैन ।

सडक र नदी किनारमा शिविर बनाएर बसिरहेका छन् । आरक्ष पीडित संघर्ष समिति बनाएर पीडितहरु काठमाडौं आई जिल्लाबाट निर्वाचित सांसद र मन्त्री तथा प्रधानमन्त्रीसँग भेट गरेर समस्या सुनाए पनि सम्बोधन भएको छैन ।

Published : Thursday, 2023 June 8, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया