विवादित ‘सीएमसी’का कारण सिम्रनले ज्यान दिइन्, पाताकसेर कारबाही गर्न माग

काठमाडौं । धेरै समय विवादमा आइरहने ‘चितवन मेडिकल कलेज’ (सीएमसी)मा अध्यनरत छात्रा सिम्रन थापा मृत फेला परेपछि विद्यार्थीले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

फेडरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट्सले चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्षमा अध्ययनरत छात्रा थापाले बुधवार आन्तरिक परीक्षा दिइरहेको बेला परीक्षा हलबाट शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालेको र त्यसपछि उनले आफ्नो कोठामा गई आत्महत्या गरेको आरोप लगाउँदै दोषीलाई छानबिन गरी कडा कारवबाहीको माग गरेको हो ।

घटनाको विरोधमा विद्यार्थीले मेडिकल कलेजको शिक्षण अस्पतालका सम्पूर्ण बहिरंग (ओपिडी) सेवा अनिश्चित समयका लागि अवरुद्ध गरेका छन् ।

ओपिडी बन्दको आन्दोलनमा फेडेरेसनले ऐक्यवद्धता जनाएको छ । ‘चितवन मेडिकल कलेज–विद्यार्थी संघर्ष समितिका मागहरूप्रति ऐक्यवद्धता प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘तत्काल घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कडा कारबाही गर्न गृह प्रशासनसँग जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

फेडेरेसनले पछिल्लो समय शैक्षिक क्षेत्रमा शिक्षकले विद्यार्थीलाई मानसिक यातना दिने क्रम बढेको भन्दै शिक्षण पेशालाई थप मर्यादित बनाउन आग्रह पनि गरेको छ ।

‘पछिल्लो समय शैक्षिक क्षेत्रमा शिक्षकले विद्यार्थीलाई मानसिक यातना दिने क्रम बढेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘खासगरी प्राविधिक शिक्षण गर्ने संस्थाका विद्यार्थीले गुनासो गर्ने क्रम बढिरहेको जनाएको छ ।’

‘मानसिक स्वास्थ्यमा राज्यले विषेश कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘शिक्षण पेशालाई थप मर्यादित बनाउन सबै पक्षले सहकार्य गर्न अपरिहार्य आवश्यकता रहेको छ ।’

मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत सिमरन थापा बुधबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी छिन् ।

पाल्पाको रामपुर नगरपालिका– ४ घर भएकी २३ वर्षीया सिम्रन थापा भरतपुर–१० सप्तगण्डकी चोकमा रहेको आफू सुत्ने कोठामै मृत फेला परेकी हुन् ।

विद्यार्थीले परीक्षाहलमा सम्मिलित शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएर निकालेको र सोपश्चात् उनले आत्महत्या गरेको आरोप लगाउँदै विद्यार्थी संघर्ष समितिमार्फत आन्दोलनमा उत्रिएका छन् ।

चितवन मेडिकल कलेजले निकै महँगो शुल्क लिएको भनेर गुनासो पनि बढ्दै आएको छ । प्रत्येक महिना जस्तो सीएमसीमा विवाद भइरहन्छ ।

चौतर्फी दवाव परेपछि दवाव झेल्न नसकेर चितवन मेडिकल कलेजले आफ्ना २ जना शिक्षकलाई निलम्बन गरेको छ ।

बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको हो । डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ । परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या गरेकी थिइन् ।

मृतकका परिवारले सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर गरेका छन् । त्यसपछि कलेजले निलम्बन गरेको हो ।

बुधबार दिउँसो परीक्षा दिइरहेकी थापालाई चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । त्यसपछि कलेज नजिकै रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

घटनापछि विद्यार्थीले मेडिकल कलेजको ओपिडी सेवा बन्द गरेका छन् । घटनापछि कलेजले निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो ।

प्रहरीले उक्त घटनाका विषयमा अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान थालेको र शिक्षकलाई निलम्बन गरेपछि विद्यार्थीहरूले ओपीडी सेवा सुचारू गरेका छन् । तर, डेन्टलको ओपीडी सेवा भने बन्द छ ।

Published : Thursday, 2023 May 11, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया