व्यवसायीहरूलाई परेको चर्को ब्याजको समस्या समाधान गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताएका छन् ।
मंगलबार काठमाडौंमा काठमाडौ मेडिकल कलेज पब्लिक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिको संयुक्त प्राविधिक सहयोगमा एकता व्यापार संघद्वारा आयोजित बृहत नि:शुल्क स्वास्थ्य शिविरमा बोल्दै बस्नेतले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।
कांग्रेसका नेता समेत रहेका मन्त्री बस्नेतले भने, ‘मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ । उनीहरूलाई काम गर्ने वातावरण दिइएन भने देशको विकासले फड्को मार्न सक्दैन, सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छ ।’
उनले पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको बताएका छन् ।
कोरोना सङ्क्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न आफूले पहल गर्ने बस्नेतले बताएका छन् ।
उनले कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने बताएका छन् ।
उनले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताएका छन् । उनले व्यवसायीहरूलाई सरकारसहित सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘व्यवसायी मित्रहरू चर्को ब्याजदरका कारण मर्कामा परेको र व्यवसायनै संकटमा परेको लगायतका गुनासोहरू सुनियो । उहाँहरूका समस्या समाधानका लागि सरकारी संयन्त्रबाट कुनै कसुरी बाँकी नराखी लाग्ने प्रतिबद्धता व्यक्त गतेको छु ।’
‘यी विविध समस्या समाधानको लागि अर्थ मन्त्रालय र सिंगो नेपाल सरकार गम्भीरता पूर्वक काम गरिरहेको कुरा पनि अवगत गराउन चाहन्छु’, मन्त्री बस्नेतले भनेका छन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया