यस्तो हो डीआईजी श्याम ज्ञवालीको कुरा, भूमिगत गिरोह ‘बकबक’ नगरे हुन्छ

काठमाडौं । नेपाल प्रहरीभित्र भाँडभैलो मच्चाउन एउटा समूह सक्रिय भएर लागेको छ ।

स्वार्थ समूहका कारण नेपाल प्रहरीको बदनाम गर्ने प्रयासहरू बेलाबेला हुने गरेका छन् । आफूले अवसर नपाएपछि वा आफ्ना प्रतिस्पर्धीहरूलाई सिध्याउन बेलाबेला विभिन्न खेलहरू हुने गरेका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीका विषयमा पछिल्लो समय मिडियाबाजी भएका छन् ।

डीआईजीहरूको बढुवा हुने चर्चा चलेसँगै ज्ञवालीलाई विवादमा पार्ने प्रयासहरू भएका हुन् ।

डीआईजी ज्ञवालीको जन्ममितिलाई लिएर भएका विवादहरूमा धेरै विभिन्नता छ ।

प्रहरी नियमावलीलाई अध्ययन नै नगरी नागरिकताको विवाद निकाल्ने समूहको भित्री स्वार्थ के छ ? भन्ने कुरा प्रष्ट बुझिन्छ ।

ज्ञवाली विवादमा कहिल्यै पनि पर्न चाहँदैनन् । उनको असल आचरणका कारण केही तत्वलाई मन परेको छैन ।

प्रहरी नियमावली, २०७१ को नियम १२७ उपनियम २ (ग) मा प्रष्टसँग सबै कुरा उल्लेख गरेको छ ।

डीआईजी ज्ञवाली पनि प्रहरी महानिरीक्षकका दाबेदार हुन् । ज्ञवालीलाई जन्ममितिको विवादमा पारेर अशोक सिंहलाई जस्तै हटाउन खोज्ने तत्व सक्रिय छ ।

ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ । उजुरी प¥यो भन्दैमा आयोगले तथ्य र प्रमाण नहेरेर निर्णय गर्छ भन्ने छैन । प्रहरी नियमावलीमा भएको व्यवस्थालाई अध्ययन नै नगरी डीआईजी ज्ञवालीमाथि जन्ममितिको विवाद गरेको विषयलाई प्रहरीभित्रै रुचाइएको छैन ।

डीआईजी ज्ञवालीविरुद्ध नियोजित र योजनावद्ध रुपमा पूर्वाग्रह साँध्न गिरोह सक्रिय भएको प्रष्ट छ ।

ज्ञवालीले जिल्ला प्रशासन कार्यालय प्यूठानबाट २१ चैत २०४१ मा लिएको नागरिकतामा उनको उमेर १७ वर्ष उल्लेख छ ।
त्यसबेला देशभरि मोटो नेपाली कागजमा नागरिकता दिइन्थ्यो । नागरिकतामा पूरै जन्ममिति नभएर उमेरमात्र उल्लेख गर्ने चलन थियो । त्यही अनुसार ज्ञवालीको नागरितामा जन्म साल महिना र गते खुलाइएको छैन ।

ज्ञवालीको नागरिकतामा तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद खनालले हस्ताक्षर गरेका छन् ।

त्यसबेलाको चलन अनुसार ज्ञवालीको नागरिकतामा जन्म महिना एवं गते नखुलाइएकाले उनले नागरिकता प्राप्त गरेको दिन २१ चैतलाई नै जन्ममिति मान्नु पर्ने र उमेर १७ वर्ष उल्लेख भएकाले जन्म साल २०२४ हुनु पर्ने अनुमानित तर्क गरेको देखिन्छ ।
ज्ञवालीको शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रमा जन्ममिति २६ भदौ २०२५ छ ।

नागरिकतामा उल्लिखित जन्ममितिभन्दा ५ महिना ५ दिन फरक छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षा, एसएलसी दिनुअघिको टेष्ट परीक्षा, एसएलसीको रजिष्ट्रेशन फर्ममा समेत ज्ञवालीको जन्ममिति २६ भदौ २०२५ साल रहेको छ ।

प्रहरी नियमावली, २०७१ को नियम १२७ को उप–नियम २ (ग) मा उल्लेख भएअनुसार ज्ञवालीको नागरिकतामा वर्षमात्र उल्लेख भएको र शैक्षिक एवं चारित्रिक प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको छ । प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिका आधारमा ज्ञवालीको जन्ममिति २६ भदौ २०२५ कायम हुने नियमावलीमा व्यवस्था छ ।

किनकि ज्ञवालीको नागरिकता प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को अर्थात् शैक्षिक एवं चारित्रिक प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको छ ।

यी दुईको अन्तर नियमावलीमा व्यवस्था गरेअनुसार एक वर्ष पनि होइन, ५ महिना ५ दिनमात्र अन्तर छ ।

तिथिमिति हेरेर २६ भदौ २०२५ मा नागरिकता लिएको हुन्थ्यो भने मात्र शैक्षिक, चारित्रिक प्रमाणपत्र र नागरिकतामा ज्ञवालीको जन्ममिति ठ्याक्कै मिल्ने थियो ।

राजीनामा दिएका डीआईजी अशोक सिंंहको नागरिकतामा उल्लेख वर्ष र शैक्षिक एवं चारित्रिक प्रमाणपत्रमा एक वर्ष ६ महिना २४ दिनको फरक छ । सिंहको जस्तो विवाद डीआईजी ज्ञवालीको छैन । र, होइन पनि ।

प्रहरी नियमावलीमा के भन्छ ?

‘(ग) कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिका आधारमा ।
तर, यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) बमोजिम जन्ममिति कायम गरिनेछ ।’

Published : Thursday, 2023 March 2, 9:20 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया