प्रधानमन्त्रीले खतरनाक संकेत गर्नु भयो, राष्ट्रले धेरै ठूलो संकटको सामना गर्नु पर्नेछ : कांग्रेस नेता खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खडकाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको नेपाल–भारत सिमानासम्बन्धी अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व कार्यबाहक सभापति समेत रहेका नेता खड्काले प्रधानमन्त्री शाहले नेपालको भौगोलिक अखण्डता (सिमाना) र सार्वभौमिकताका बारेमा बोलेको कुरा खतरनाक संकेत रहेको बताएका छन् ।

‘प्रधानमन्त्री वालेन्द्र शाहले आज (आइतबार) सार्वभौसत्ताका मालिक नेपाली जनताले निर्वाचित गरेको प्रनिधिसभाको बैठकको रोष्टमबाट नेपालको भौगोलिक अखण्डता (सिमाना) र सार्वभौमिकताका बारेमा जे बोल्नु भयो, जसरी बोल्नु भयो ? यसबाट उहाँले खतरनाक संकेत गर्नु भएको रुपमा बुझेर सबै राजनीतिक दल, नागरिक समाज र संचार जगतले बेलैमा एकताबद्ध भएर यसको प्रतिबाद गर्नु बुद्धिमानि हुनेछ ।’

‘अन्यथा निकट भविष्यमा राष्ट्रले धेरै ठूलो संकटको सामना गर्नु पर्ने दिन टाढा नहुन सक्छ ? गंभीर बनौं,’ कांग्रेस नेता खड्काले भने, ‘देशको भूगोलको रक्षाका लागि ।’

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सिमाना मिचेको भनेर कपोकल्पित र विवादित अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री जस्तो व्यक्तिले संसदमा दिएको यो अभिव्यक्ति सार्वभौमसत्ता देशका लागि कदापि स्वीकार्य विषय होइन ।

Published : Monday, 2026 June 1, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया