प्रधानमन्त्री शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेससहितका विपक्षी दलहरूको माग
काठमाडौं । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरूले सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिमाथि संसदमा प्रश्न उठाएका छन् ।
संसदको आइतबार सिंहदरबारमा बसेको बैठकमा विपक्षी दलका सांसदहरूले सीमा विवादबारे प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले भनेका छन्, ‘मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी जिम्मेवार व्यक्ति, जिम्मेवार सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको छ । यो सामान्य विषय छैन ।’
प्रधानमन्त्री शाहले अनौपचारिक कुराकानीमा राखेको विषय जस्तो सम्झिए जस्तो गरी बोलेको हुन सक्ने भन्दै उनले भने, ‘यो कुरा धेरै नै गम्भीर छ ।’
प्रधानमन्त्री शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए । प्रधानमन्त्री शाहले भनेका छन्, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ सीमा विवादको विषयमा दुईपक्ष बसेर हेर्ने पनि उनको प्रतिवद्धता थियो ।
यसमा प्रश्न उठाउँदै सांसद मल्लले भने, ‘के अरु कुनै मुलुकका प्रमुख, राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौं भन्छन् होला ? यो कति गम्भीर विषय छ ।’ यसकारण पनि प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने उनको माग छ ।
सांसद मल्लले भनेका छन्, ‘यो सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले संसद्को तर्फबाट करेक्सन गर्नैपर्दछ । र, त्यो अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि यो विषयमा प्रश्न उठाइन् । ‘सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो । यहाँ कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ उनले भनेकी छन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनप¥यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया