आत्महत्या गरेका मान्छेको नाममा बालेनले महानगरको १ करोड ५० लाखमा पार्क बनाउने

काठमाडौं । जीवनबाट दिक्क भएर बेलायतमा आत्महत्या गरेका र्‍यापर स्व.अनिल अधिकारी ‘यम बुद्ध’को काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पार्क बनाउने भएका छन् ।

बालेनले यम बुद्धलाई र्‍यापरमा आफ्नो गुरु मान्छन् । आफ्नो गुरुको सम्मानमा काठमाडौं महानगरपालिकाको बजेट दुरुपयोग गरेर यम बुद्धको नाममा पार्क बनाउन लागेका छन् ।

पार्क बनाउन मेयर शाहले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । महानगरले यसअघि र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आर्थिक वर्षको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो ।

सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको छ ।

महानगरका प्रवक्ता एवम् वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले विष्णुमती नदीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बनाउने बताएका छन् ।

प्रवक्ता मानन्धरले पार्कमा यम बुद्धको सालिक नरहने बताएका छन् । मेयर शाहले यम बुद्धको नाममा पार्क र सालिक बनाउने निर्णयको जनस्तरबाट चर्को विरोध हुँदा पनि टेरेका छैनन् ।

यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने घोषणा गरेका मेयर शाहले महानगरकै बजेट खर्च गरेर यम बुद्धको नाममा पार्क बनाउने निर्णय गरेर सबैलाई जिल पारेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिन मिल्ने कानूनी व्यवस्था नै नरहेको भन्दै आलोचना भएको छ ।

को हुन् अनिल अधिकारी उर्फ यम बुद्ध ?

युम बुद्धको वास्तविक नाम अनिल अधिकारी हो । उनको जन्म सन् १९८७ मे ३० मा धनकुटा जिल्लाको लेगुवामा भएको हो । मोरङको सलकपुर घर भएका यम बुद्ध कक्षा ६देखि काठमाडौंमा बसेर पढेका थिए । यम बुद्ध सन् २०१५ देखि आफ्नी श्रीमतसँग लण्डनमा बस्दै आएका थिए । उनको मृत्यु सन् २०१७ जनवरीमा भएको थियो । यम बुद्धले २९ वर्षको उमेरमा लण्डनमा बाथरुमा आत्महत्या गरेका थिए । उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको विकिपिडियाले उल्लेख गरेको छ ।

Published : Thursday, 2022 July 28, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया