दीपा र मेलम्ची रेडियोलाई इञ्जाको पुरस्कार
काठमाडौं । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल (इञ्जा)ले यस वर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पचास हजार राशीसहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने निर्णय इञ्जा निर्णायक मण्डलले सोमबार गरेको इञ्जाका केन्द्रीय उपाध्यक्ष एवं इञ्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी दिएका छन् ।
एक दशक अगाडिदेखि सप्तरीको स्थानीय रेडियो हुँदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको विकास, संरक्षण र प्रबर्द्धन एवं मधेशका समाचार प्रबाहमा उल्लेख्य योगदान पु¥याउँदै आएकी कणले ग्रामीण जीवन त्यसमा पनि तराइमा लैगिक समानताका लागि पत्रकारितामार्फत आफ्नो क्रियाशीलता बढाउँदै आएकी छिन् ।
ग्रामीण आवाजलाई उजागर गर्ने उद्देश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२ मेघाहर्जले आफ्नो प्रसारणमार्फत स्थानीयलाई सु–सूचित गर्ने र उनीहरूका आवाजलाई जस्ताको तस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ ।
०७२ सालको बिनाशकारी भूकम्प र गत वर्ष ईन्द्रावती र मेलम्ची खोलामा आएको बिनाशकारी बाढीले रेडियोका प्रसारण यन्त्र र महत्वपूर्ण कागजातहरूमा क्षति पु¥याएपनि त्यस रेडियो तत्काल अस्थायी संरचनाको स्टुडियोमार्फत प्रसारण गरेर भएपनि नागरिकको आवाज र सूचनाको हकलाई उजागर गर्ने दायित्वबाट पछि परेन । यसले गर्दा सामुदायिक रेडियोप्रतिको जनविश्वास अझ मजबुत बनाएको छ ।
एक लाख राशीसहितको इञ्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने र पचास, पचास हजार राशीसहितको इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिभुवन बिश्वबिद्यालय आमसंचार तथा पत्रकारिता बिभागका उप–प्राध्यापक देबराज अर्याललाई प्रदान गर्ने गरी निर्णायक मण्डलले यसअघि नै घोषणा गरिसकेको छ ।
इञ्जाको पाँचौ वार्षिकोत्सव एवं इञ्जा डेको अबसरमा साउन १४ गते संचार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शनिबार आयोजना गरिने बिशेष कार्यक्रममा पुरस्कार बितरणसंगै बरिष्ठ पत्रकार हरि लम्साल, अग्रज पत्रकार गोपाल शर्मा र संचारिका समूहकी पूर्वअध्यक्ष नीतु पण्डितलाई सम्मान गरिनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया