गृहमन्त्रीद्वारा पाल्पा, भक्तपुर र सुनसरीका दुर्घटनामा चिन्ता व्यक्त, उपचार गराउन आदेश

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दिकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाहरूको उपचारबारे चासो लिएका छन् ।

आइतबार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई टेलिफोन गरी छुट्टाछुट्टै दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कसुर बाँकी नराख्न र थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका हुन् ।

खाणले पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरू तत्काल अस्पताल पुर्‍याएर उपचार गर्न कुनै कसुर बाँकी नराख्न पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले अस्पताल पुर्‍याउन थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि भनेका छन् ।

गुल्मीको मजुवाबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जना घाइते भएको प्रजिअ पन्थले जानकारी दिए ।

उनले बिरामी सबैलाई पाल्पाको मिसन अस्पतालमा पु¥याइएको बताएका छन् ।

गृहमन्त्री खाणले घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएको उनले बताए ।

दुर्घटनामा तीन पुरुष र तीन महिलाको मृत्यु भएको खुले पनि कसैको पनि सनाखत हुन सकेको छैन । घाइते प्रायः सबैलाई गहिरो चोट लागेको प्रजिअ पन्थले बताएका छन् ।

अर्को बसलाई साइड दिने क्रममा बस सडकबाट साढे दुई सय मिटर तल खोल्सामा खसेको थियो ।

उता, सुनसरीको कोशी टापु बन्यजन्तु आरक्षभित्र रुख ढलेर स्कुटर च्याप्दा एक जनाको मुत्यु र एक जना घाइते भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।

आरक्षभित्र ०१–०२–०४४ प ६६८१ नम्बरको स्कुटर सुकेको सिसौको रुख ढल्दा च्यापिएर धरान उप–महानगरपालिका–११ बसोबास गर्ने २८ वर्षका धिरज तामाङको मृत्यु भएको छ । स्कुटरमा बसेका २८ वर्षीय सगेन्द्र बिष्ट घाइते भएको प्रजिअ यादवले जानकारी दिए । घाइते विष्टको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

त्यस्तै भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका छन् ।

सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटीलाई च्याप्दा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिएका छन् ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले बताएका छन् ।

Published : Sunday, 2022 July 24, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया