महर्जनले दिए प्रेस युनियनलाई शुभकामना, कांग्रेसलाई चुनावमा जिताउन भूमिका खेल्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका पूर्वसचिव मीनकृष्ण महर्जनले लोकतन्त्रप्रति आस्था राख्ने देशभरिका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको ९औं महाधिवेशनको शुभकामना दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले आज शुक्रबारदेखि हेटौँडामा शुरु हुन लागेको महाधिवेशनको शुभकामना दिएका हुन् । उनले भने, ‘नेपाली कांग्रेसका आदरणीय सभापति एवम् सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले उद्घाटन गर्न लाग्नुभएको महाधिवेशन सफलताका साथ सम्पन्न हुनेछ । युनियनका सबै पार्षदहरूलाई शुभकामना ।’

नेता महर्जनले महाधिवेशनबाट आउने युनियनको नयाँ नेतृत्वले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसको पक्षमा प्रचार प्रसारमा सहयोग गर्न भूमिका खेल्न विश्वास लिएका छन् ।

‘लोकतन्त्रप्राप्तिको आन्दोलनमा पत्रकारहरूको ठूलो योगदान छ’, उनले भने, ‘हामी सबैको कुरालाई समाचारका माध्यमबाट जनतासामू लगेर सहयोग गर्नुभएको पत्रकारहरूले लोकतन्त्रको रक्षाका लागि सधैँ अग्रभागमा रहेर काम गर्दै आउनुभएको छ ।’

युनियनको महाधिवेशनको शुक्रबार प्रधानमन्त्री एवम् सभापति देउवाले उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रमका लागि कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य रामहरि खतिवडासहितका नेताहरू हेटौँडामा छन् ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान १० बजे हेलिकप्टरबाट हेटौँडा जाने कार्यक्रम छ ।

Published : Friday, 2022 July 22, 7:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया