सबै पालिकाबाट मतदाता नामावली संकलन गर्न कांग्रेस नेता खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले ७५३ वटा पालिकाबाट मतदाता नामावली संकलन गर्न माग गरेका छन् ।

मंगलबार ट्वीट गर्दै खतिवडाले निर्वाचन आयोगसँग सबै पालिकामा कर्मचारी खटाएर मतदाता नामावली संकलन गर्न आग्रह गरेका हुन् । उनले पहाडी र हिमाली जिल्लाहरूको भौगोलिक कठिनाइका विषयमा जानकारी गराउँदै पालिकामा पुगेर नाम संकलन गर्नुपर्ने बताएका हुन् ।

‘निर्वाचन आयोगसंग अनुरोध छ । सकेसम्म ७५३ पालिकाबाटै मतदाता नामावली संकलनको व्यावस्था मिलाउनुपर्छ’, उनले भनेका छन् ।

‘शहरमा १ घण्टामा सबै ठाउँमा पुगिन्छ । तर, हिमाली र पहाडी जिल्लामा नाम लेख्न आउन २ दिनलाग्छ’, उनले भने, ‘निर्वाचन आयोगलाई भूगोलको ज्ञान होस् ।’

‘अब सबै संघको र प्रदेशको चुनावको तयारीमा लागौं । मंसिर ४ मा मतदान गर्न तयार हौं’, खतिवडाले भने, ‘मतदाता नामावली नाम छुटेकाले तुरुन्तै निर्वाचन आयोग कार्यलय वा जिल्ला प्रशासन कार्यलयमा गएर नाम लेखाऔं ।’

उनले भने, ‘उमेर पुगेको नागरिक मतदानमा कोहि बञ्चित हुनुहुँदैन ।’

निर्वाचन आयोगको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण लाखौं मतदाताहरूले आफ्नो नाम दर्ता गर्न पाएका छैनन् । निर्वाचन कार्यालयमा पुगेर दर्ता गर्नुपर्ने बाध्यताले गर्दा समस्या भएको छ ।

तराईका जिल्लामा खासै समस्या नभए पनि पहाडी र हिमाली जिल्लामा मतदाता नामावली संकलनमा समस्या छ ।

निर्वाचन आयोगले आफूलाई बोक्रे तरिकाले प्रस्तुत गरेपछि नयाँ मतदाताहरूले चिन्ता जनाएका छन् ।

Published : Tuesday, 2022 July 19, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया