एमालेका पूर्वसांसदकी पत्नी सहकारी काण्डमा काठमाडौंमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५७ वर्षीया सिर्जना शाक्य तामाङलाई पक्राउ गरेको छ ।
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको लेखा समिति सदस्य सिर्जनालाई सीआईबीले मंगलबार काठमाडौंको रामशाहपथबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सिर्जनाको ठेगाना धनकुटाको धनकुटा नगरपालिका–६ भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका– १ मा बस्दै आएकी थिइन् ।
उनलाई सीआईबीले ठगीसम्बन्धि कसूर तथा संगठित अपराधको अभियोगमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी सिर्जना संस्थाका पूर्व अध्यक्ष ईच्छाराज तामाङकी पत्नी हुन् ।
ईच्छाराजले पाँच अर्ब चौरासी करोड चालीस लाख एक्काइस हजार सात सय तेह्र रुपियाँ दश पैसा ठगी गरेको कसूरमा पुर्पक्षका लागि थुनामा छन् ।
३ वर्षदेखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाएपछि १५३० जना पीडितहरूले सीआईबीमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिएका थिए ।
सोही जाहेरी दरखास्तको आधारमा अनुसन्धान सम्पन्न भई मंसिर १७ गते पूर्व अध्यक्ष ईच्छासहित १२ जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
ईच्छाराज र केशवलाल श्रेष्ठ बाहेक बाँकीलाई अदालतले धरौटीमा छाडेको छ ।
लेखा समिति सदस्य सिर्जना फरार रहेकी थिइन् । सिर्जनालाई पक्राउ गरेर सीआईबीले अदालतमा मंगलबार नै पेश गरेको छ ।
पुर्पक्षका लागि थुनामा रहेका पूर्वअध्यक्ष ईच्छाराज एमालेका पूर्व सांसद पनि हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया