काठमाडौं महानगरमा १९ वडा जितेर कसरी हार्‍यो कांग्रेस ? ईन्द्र बानियाँले पत्ता लगाएर खोले कुरा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टीमा सबैले टिकट पाउन नसक्नेभन्दै टिकट पाउनेलाई सबै मिलेर जिताउनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको टोखा– ८ मा आयोजित कार्यक्रममा सभापति बानियाँले भने, ‘सबै नेता हुन सक्दैनन् । सहयोगी समर्थक हुन्छन् । सबै चुनाव लड्दैनन् । सबैले चुनाव लड्ने विषय पनि होइन ।’

‘सबैले टिकट खोज्ने विषय पनि होइन । टिकटका लागि म यो पदमा उपयुक्त छु । सामना गर्न सक्छु । प्रतिस्पर्धा गर्ने हो’, उनले भने, ‘त्यसको लागि लड्ने हो । निरन्तर संघर्ष गर्ने हो । टिकट पाइन भनेर भाग्ने होइन । पाएपछि खुशी हुने होइन ।’

सभापति बानियाँले भने, ‘राजनीतिमा निरन्तर, अभ्यास, प्रयास, संघर्ष हो । राजनीति भनेको जीवनको यात्रा हो । राजनीति भनेको काठमाडौंको जस्तो ईन्द्रजात्रा, भक्तपुरको जस्तो जिब्रो छेड्ने होइन ।’

‘राजनीति यात्रा हो । निरन्तर संघर्ष हो । यो गणेशमानले बनाएको पार्टी, वीपीको बिचारले बनेको पार्टी । नेतृत्वहरूको त्याग, बलिदान र इतिहाँसले बनेको पार्टी हो’, उनले भनेका छन् ।

‘हरेकले ईतिहाँसको खण्डमा एक–एक वटा नेपाली कांग्रेसलाई नेपाली जनताको बीचमा शिर उच्च राखेको पार्टी हो । त्यो पार्टीको हामी कार्यकर्ता हो’, उनले भनेका छन्, ‘हामीले के गर्ने ? के नगर्ने ? हामीले जान्नुपर्छ ।’

‘हामीभित्र कुण्ठा छ । पार्टीभित्र मैले पाउँदा ठीक, अर्कोले पाउँदा बेठिक भन्नेछ’, उनले भने ।

‘काठमाडौंको घटना क्रमलाई हेर्दा मैले टिकट दिँदै गर्दा काठमाडौं महानगरपालिकाको १९ वटा वडा जित्ने, १९ वटै वडामा रुख चिन्हले जित्ने, त्यहाँ मुख चिन्हले जितेको होइन’, बानियाँले चेतावनी शैलीमा भने, ‘१९ वटा वडाको भोट ६८ हजार आउने, त्यहीँ मेयर लडेको उम्मेदवारको भोट ३८ हजार आउने !?’

‘कांग्रेस पार्टीभित्र अनुशासन के रहेछ त ? कांग्रेस पार्टी अनुशासनको पार्टी हो त ? भन्दा त कांग्रेस पार्टी छाडाको पार्टी हुन थाल्यो नि ?’, प्रश्न गर्दै बानियाँले भनेका छन्, ‘अनुशासन के हो ? मर्यादा के हो ? सभ्यता के हो ? सिकाउनुपर्ने भएको छ । निरन्तर संघर्ष गरेको पार्टीभित्र अनुशासन, मर्यादा, संघर्ष, सभ्यता टुट्दै गएको हो कि ?’

‘विवाह गर्दा पनि छोरा–छोरीको तीन पुस्ता हेर्न चलन छ । पुस्ता हेर्दा पनि छोरा दिने, छोरी लिने र दिने–लिने कुरा हुन्छ’, बानियाँले भने, ‘कांग्रेस भनेको तीन पुस्ता राम्रो भएको पार्टी हो । यो पार्टीभित्र कुनै पनि नेताले शिर झुकाएको छैन ।’

उनले भने, ‘तीन पुस्ता राम्रो भएको पार्टी, विचारको पार्टी, सद्धान्तर र विचारले देशभरि संरचना भएको पार्टी र त्यो पार्टीको त्याग र बलिदान भएको प्रधानमन्त्री नेता भएको पार्टी । किशुनजी जस्तो निष्ठा भएको पार्टी हो ।’

‘कांग्रेस भनेको हुनेको पनि पार्टी, नहुनेको पनि पार्टी, गरिवको पनि पार्टी, धनीको पनि पार्टी, सुवर्णशम्शेरको पनि पार्टी, किशुनजीको पनि पार्टी हो’, उनले भने, ‘सुवर्णशम्शेर जस्तो धनीले समानताका लागि दाजुभाईसँग विद्रोह गरेर नेपाली कांग्रेसमा आएको पार्टी, अनि कृष्णप्रसाद भट्टराई जस्तो जीवनमा सामान्य रुपमा बाँच्न चाहने धनदौलत ऐशआराम नचाहिने मानिस ।’

‘गन्तव्यमा पुग्न आफूले नपाए पनि अर्कोले पाएको छभने उसलाई जिताउन दौडनुपर्छ’, उनले भने, ‘प्रतिस्पर्धामा ५/७ जना साथी हुन्छन् । पाउने त एउटाले हो नि । एउटाले पाएपछि मन बुझाउनु पर्छ । एक ढिक्का भएर लाग्नुपर्छ । मान्छेमा कुण्ठा र पीडाले प्रगति हुँदैन ।’

‘स्थानीय तहको निर्वाचनको समीक्षा गरौँ । अन्तरघातले मात्रै हारिदैन’, सभापति बानियाँले भने, ‘हामीले रणनीति बनाउन नसकेर हो कि ? महिलाले टिकट पाएका छन् । पुरुषले पनि टिकट पाएका छन् । जित्दैनन् । मिलेर जिताउनुपर्छ ।’

सभापति बानियाँले भनेका छन्, ‘क्रियाशील २४सैं घण्टा अनलाईनबाट खुला राख्ने हो । १० वर्ष पुगेकालाई क्रियाशील दिने हो । यो पार्टी जिम्दारको पार्टी होइन ।’

‘लोकतन्त्रमा स्वतन्त्रले अर्थ राख्दैन । काठमाडौं महानगरमा जितेको छ । के–के नै भनेको होला’, उनले भने, ‘स्वतन्त्रबाट केही हुँदैन । हामीबाटै गएकाहरूले नै स्वतन्त्र दिएर जितेका हुन् । तलबाट टिकट दिने हो भने अन्तरघात र विद्रोह धेरै हुँदैन ।’

कार्यक्रममा काठमाडौं कांग्रेसका सभापति कृष्णसबुज बानियाँ, नेता श्यामकृष्ण खड्गी, नेतृ रजनी थापालगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

Published : Saturday, 2022 July 16, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया