तुइन चुडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ मा तुइनबाट भारततर्फबाट नेपालतर्फ आउँदै गर्दा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तिव्र बनाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीक्षो खोजी कार्य तिव्र बनाउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी कार्य तिव्र बनाउन गृहमन्त्रीले निर्देशन दिएको तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताएका छन् ।

बिहीबार थप फौज पठाएर खोजी कार्य तिव्र बनाइने उनले बताएका छन् ।

बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौ भारीसहित दुम्लिङ नजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुडिएर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

Published : Wednesday, 2022 July 6, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया