बागलुङमा कमर्श पढ्ने नक्कली डाक्टरहरूको कर्तुत, पोलिक्लिनिकभित्र छिरेर पक्राउ

काठमाडौं । बागलुङमा प्रहरीले दुई जना नक्कली चिकित्सकहरूलाई पक्राउ गरेको छ ।

बागलुङ प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार धादिङको धादिङबेशी नगरपालिका–५ बस्ने २७ वर्षीय राम अर्याल र नवलपुरको कावासोती नगरपालिका–९ बस्ने २१ वर्षीय गणेश भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका–२ स्थित शंकर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको विशेष सुराकीको आधारमा प्रहरीले छापामारेको थियो ।

शंकर पोलिक्लिनिकमा गई चेकजाँच गर्दा सम्बन्धित चिकित्सकको अनुपस्थितिमा स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन सङ्कायमा अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाइएपछि नक्कली डाक्टरहरूलाई पक्राउ गरिएको एसपी ज्ञवालीले बताए ।

‘शंकर पोलिक्लिनिकको तलासी लिँदा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याड समेत फेला पारी रीतपूर्वक बरामद गरी उक्त कसूरमा संलग्न राम अर्याल र गणेश भण्डारीलाई नियन्त्रणमा लिई बागलुङ जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ’, सूचना अधिकारी एवम् डीएसपी ईन्द्रबहादुर रानाद्वारा विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2022 July 6, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया