ट्राफिक प्रहरीले डाक्टरको नाक भाँच्चिने गरी दनक दिएपछि कारबाहीको माग

काठमाडौं । नेपाल चिकित्सक संघले डा. कुलबहादुर घिसिङलाई कुटपिट गर्ने ललितपुरका ट्राफिक प्रहरी राजेन्द्र थापालाई कारबाही गर्न माग गरेको छ ।

आइतबार संघका आजीवन सदस्य डा. घिसिङ पैदल हिँडिरहेको अवस्थामा थापाको कुटपिटबाट गरी घाइते भएका थिए ।

सुरक्षाकर्मीको आचरण र मूल्य मान्यता विपरीत जिम्मेवार ट्राफिक प्रहरीले चिकित्सकको परिचयपत्र देखाउँदा समेत हातपात गरी स्वास्थ्य सेवा प्रवाहमा समर्पित एकजना जिम्मेवार चिकित्सकलाई घाइते बनाउनु ज्यादै नै लज्जास्पद घटना भएको संघले बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाकर्मीबाट नै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकमाथि यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ ।’

‘सुरक्षाको प्रत्याभूतिका लागि समर्पित हुने व्यक्तिले असुरक्षित वातावरण निर्माण गर्नु अत्यन्तै खेद जनक रहेको नेपाल चिकित्सक संघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

थापालाई यथाशक्य कानूनी कारबाही गरी घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराउन संघले सरोकारवाला निकाय, स्थानीय सुरक्षा निकाय, गृह मन्त्रालय एवं नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।

Published : Tuesday, 2022 June 28, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया