सशस्त्र प्रहरीको मुख्यालयमा गृहमन्त्री खाण, योग कार्यक्रममा सहभागी

काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाण योग कार्यक्रममा सरिक भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा मंगलबार आयोजित योग कार्यक्रममा खाण सरिक भएर योग अभ्यास गरेका हुन् ।

‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौं अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा उक्त योग कार्यक्रमको आयोजना गरिएको हो ।

गृहमन्त्री खाणले बिज्ञान र प्रविधिको विकासको गतिसँगसँगै मानिसको जीवन झन्झन् व्यस्त हुँदै गइरहेको र व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाई सरल र सहज जीवनयापन गर्न सहयोग पुग्ने साथै राष्ट्रसेवक कर्मचारीहरू मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित हुन उर्जा समेत प्रदान गर्ने बताए ।

योग कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता अर्याल लगायत संघका पदाधिकारीहरू, आर्ट अफ लिभिङ्ग नेपालकी बोर्ड मेम्बर रीता बैद्य, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत, अधिकृत लगायत बिल्लादार जवानहरू समेत योग अभ्यासमा सहभागी भएका थिए ।

Published : Tuesday, 2022 June 21, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया