राजकुमारले शुरु गरेको काममा सिन्को नभाँचेका आलेले जस लिए

काठमाडौं । भिजिट नेपाललाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए)लाई ‘बुटिक विमानस्थल’का रुपमा निर्माण गरिएको छ ।

आइतबार टिआइए परिसरमा बुटिक अवधारणाअनुसार निर्माण गरिएको वाटर फाउन्टेनको उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा त्यसको शुरुवात गर्ने कुनै पनि कर्मचारी र राजनीतित्वलाई आलेले धन्यावाद दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन महाप्रबन्धक राजकुमार क्षेत्रीले ४ वर्ष अगाडि शुरु गरेको योजनालाई मन्त्री आलेले शानका साथ उद्घाटन गरेका छन् ।

बुटिक विमानस्थलको काम तीन महिनाभित्र सम्पन्न भए जस्तो गरेर आले र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रचार गरेका छन् । यो बनाउन करीव ४ वर्ष लागेको छ ।

२०७५ साल फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले बुटिक विमानस्थल बनाउनका लागि कुल ७ करोड ३५ लाख रुपियाँ बजेटसहितको कार्यविधि तयार पारेको थियो । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी स्वयम् लिएका बेला बजेटसहितको कार्यविधि तयार भएको थियो ।

नेपाल नागरिक उड्डयन प्रधिकरणको सञ्चालक समितिको २०७६ वैशाख २१ गते बसेको ३५९औं बैठकले बुटिक विमानस्थल बनाउन २७ करोड ५५ लाख बजेट विनियोजन गर्ने निर्णय गरेको थियो ।

विमानस्थलको रंगरोगनदेखि पुराना संरचनालाई शैली परम्परागत रुपमा सुविधा थपेर अत्याधुनिक बनाइएको छ । विमानस्थलभित्र थुन्से, थान्का, मुकुट, गाग्री, मादललगायतका सामग्रीहरू राखिएका छन् ।

अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिरी इटाको पर्खालमा सिलिकन पेन्टिङ गर्ने तथा अन्य रङरोगनको कार्यका लागि १ करोड ८० लाख, विमानस्थल वरपरको बाँकी खाली क्षेत्रफलमा बगैंचा निर्माण तथा सौन्दर्यकरण कार्य गर्न ७५ लाख, अन्तर्राष्ट्रिय टर्मिनल भवनको इन्टेरियर डेकोरेसन र आर्किटेक्चरल एरेन्जमेन्टको लागि आवश्यक पर्ने सेवा प्राप्त गर्न, परामर्श तथा २ महिनाको विशेषज्ञ सेवा लिन १० लाख र अन्तर्राष्ट्रिय टर्मिनल भवनको वायरिङको तार तथा सुरक्षा उपकरणको तार व्यवस्थापन एवम् कलात्मक काठको केवल कन्डक्टमार्फत पुरानो प्लाष्टिकको वायरिङ कन्डक्ट फेर्नक लागि २ करोड ९५ लाख रकमान्तर गरेर निर्माण गरिएको छ ।

विमानस्थलको गेटबाट प्रवेश गर्ने वित्तिकै मुख्य चोकमा वाटर फाउन्टेन बनाइएको छ ।

अन्तर्राष्ट्रिय टर्मिनलल भवनको बाहिरी इटाको पर्खालमा सिलिकन पेन्टिङ गर्ने तथा अन्य रङरोगनको कार्य पनि गरिएको छ ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को आन्तरिकतर्फको टर्मिनल भवनमा विस्तारित प्रस्थान कक्ष सञ्चालनमा आएको छ ।

आइतबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले नवनिर्मित प्रस्थान कक्षको उद्घाटन र आगमन टर्मिनल भवनको शिलान्यास गरेका छन् । एकैपटक चार सय यात्रुलाई सेवा दिन सकिने क्षमताको नयाँ प्रस्थान कक्षको भवन निर्माणमा १० करोड रुपियाँ खर्च भएको छ । नवनिर्मित प्रस्थान कक्षको व्यवस्थापन बुद्ध एयरले गर्ने बताइएको छ ।

आन्तरिकतर्फ आगमन टर्मिनल भवन ब्राइट मल्टी कन्स्ट्रक्सन कम्पनीले भ्याट र सेवा शुल्कबाहेक पाँच करोड नौ लाख ८३ हजारमा निर्माण गर्ने गरी ठेक्का पाएको छ ।

आन्तरिक टर्मिनलका अगाडि रहेको प्रार्किङसँगै जोडिएको जग्गामा नयाँ आगमन कक्ष निर्माण हुनेछ । एक तलाको भवन स्टिल स्ट्रक्चरबाट बनाइनेछ, जुन सात हजार वर्गमिटरमा फैलिनेछ ।

एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो भवनबाट एकैपटक दुई सयजनालाई सेवा दिन सकिने क्यानले जनाएको छ ।

आन्तरिक यात्रु बढ्दै गइरहेको र अहिले भइरहेको टर्मिनल भवन साँघुरो भएपछि क्यानले अस्थायी रूपमा नयाँ टर्मिनल भवन बनाउन लागेको हो ।

टिआइएको गुरुयोजनाअनुसारको नयाँ टर्मिनल भवन बनाउन समय लाग्ने भएपछि क्यानले अस्थायी संरचना निर्माण गर्न लागेको छ । गुरुयोजनामा ४० अर्ब खर्चिएर अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवन बनाउने उल्लेख छ । जसमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ३२ अर्ब र आन्तरिक टर्मिनल भवनमा आठ अर्ब रुपियाँ खर्च हुनेछ ।

Published : Tuesday, 2022 June 14, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया