मुख्यमन्त्री कांग्रेसलाई नछाडे पनि जबरजस्ती गर्दैनौं : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।

मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमतिअनुसार मुख्यमन्त्री कांग्रेसलाई नछाडे पनि कांग्रेसले जबरजस्ती नगर्ने बताएका हुन् ।

‘प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको छ’, उनले भने ‘कांग्रेसलाई छाडेको खण्डमा ठीकै छ, नत्र कांग्रेसले जबरजस्ती गर्दैन ।’

सभापति बानियाँले पार्टी र पार्टीभित्रका व्यक्तिको चरित्र ठीक नभएका कारण एमालेले हार व्यहोर्नुपरेको बताए ।

‘पार्टी र व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोरेको हो’, उनले भने, ‘कांग्रेसले नराम्रो काम गरेन, हल्लाको पछाडि जनता लाग्दैनन् भन्ने जनताले देखाइदिएका छन् ।’

पार्टीको सिद्धान्त, नीति र नेताको आदर्शले चुनाव जितिने बताउँदै बानियाँले धेरै तडक भडक गरेर भिड बोकेर हिँड्नु गलत भएको बताए ।

उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रतिनिधिले जितेको ठाउँमा प्रदेशसभा र प्रतिनिधिसभामा जितेन भने अहिले जितेका जनप्रतिनिधिप्रति प्रश्न खडा हुने बानियाँले बताएका छन् ।

अहिले जितेका जनप्रतिनिधिलाई अबको ५ वर्षपछिको निर्वाचनमा आवश्यक परे अरुलाई अवसर दिन सक्नुपर्ने उनले बताए ।

Published : Tuesday, 2022 June 14, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया