गृहमन्त्री खाणद्वारा सशस्त्र प्रहरीको प्रशंसा, कोलीले पाए पुरस्कार
कुरिन्टार । गृहमन्त्री बालकृष्ण खाणले तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गरेका छन् ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिन्टार, चितवनमा संचालित सि.सं. २ गोताखोर तालिमको समारोहका क्रममा खाणले तालिम सफलता पूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका गोताखोरहरूलाई बधाई दिए ।
सशस्त्र प्रहरीले पानीजन्य विपद् उद्दारका लागि तयार गरेको जनशक्ति तथा अन्य विपद् उद्दार कार्य प्रशंसनीय रहेको बताए ।
उनले विपद् व्यवस्थापनका लागि आवश्यक श्रोतसाधन, तालिम र सेवा सुविधा बढाउन गृह मन्त्रालय सकारात्मक रहेको बताए ।
विपदको समयमा पूर्व तयारी र विपदपछि खोजी र उद्दारका लागि सशस्त्र प्रहरीलाई सदैव तयारी हालतमा रहन उनले निर्देशन दिएका छन् ।
खाणले विपद् जोखिम न्यूनीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताए ।
उनले गोताखोर जस्तो जोखिमयुक्त तालिम गराउनको लागि सहयोग पु¥याउने दातृनिकाय, विदेशी प्रशिक्षक, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सरोकारवाला निकायहरूप्रति आभार प्रकट गरेका छन् ।
गृहमन्त्री खाणले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराइएको ९७ लाख रुपियाँ बराबरको विभिन्न विपद् उद्दार सामग्री समेत हस्तान्तरण गरेका छन् ।
खाणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिविसन सेन्टरको समेत अवलोकन गरेका छन् ।
पाँच हप्ता अवधिको उक्त तालिम २० जना सशस्त्र प्रहरी कर्मचारीहरूले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीस्थित सप्तकोशी नदी, पोखराको फेवाताल र मकवानपुरको ईन्द्र सरोवरमा समेत तालिमको अभ्यास गराइएको थियो ।
सोही अवसरमा नदीजन्य दुर्घटनामा उद्दार सम्बन्धि डेमो समेत प्रदर्शन गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया