जलेश्वरमा बोक्सीको आरोपमा २ महिला कुटिए, दोषीहरूलाई कठोर सजाय दिने

जलेश्वर । महोत्तरी जिल्लामा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ धबौली बस्ने श्रीफल रामको छोरा ४५ वर्षीय भुलन राम चमार र रामु राम चमारकी श्रीमती २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका उनीहरूले स्थानीय ५३ वर्षीया कालोदेवी र ५४ वर्षीया दुलरियादेवीलाई बोक्सीको आरोपमा कुटपिट गरेका थिए ।

जेठ २६ गते बिहान साढे १० बजे पीडितहरूको चुल्ठो समाती, हात, लात्ती र लाठी समेतले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

कालोदेवी र दुलरियादेवीले रामु राम चमारको श्रीमती सोमनदेवी भन्ने सोमारी देवीलाई भुतप्रेत लगाएको भनी सोमनदेवी भन्ने सोमारी देवी समेतले बोक्सीको आरोप लगाई कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ ।

बोक्सीको आरोपमा कुटपिट गर्नेहरूविरुद्ध ज्यान मार्ने उद्योग समेतको कसूर अपराध गरेको हुँदा घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिने एसपी पंगेनीले जनाएका छन् ।

पीडितको तर्फबाट कालोदेवीका छोरा अमित महत्तो र दुलरियादेवीको नाती रामजीवन राम समेतले प्रहरीमा जाहेरी दरखास्त दिएपछि प्रहरीले आरोपीहरूलाई पक्राउ गरेर कानूनी प्रक्रिया अगाडि बढाएको छ ।

Published : Saturday, 2022 June 11, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया