आईजीपी सिंहको निर्देशनले तल्लो दर्जाका हजारौँ प्रहरीहरूमा खुशी थपियो
काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् ।
उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गरेका हुन् ।
आईजीपी सिंहले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएको भन्दै संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताएका छन् ।
सिंहले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेद विना समानता कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिस्चितता गर्न निर्देशन दिएका छन् ।
आईजीपी सिंहको यो आदेश र निर्देशनले तल्लो तहका प्रहरी कर्मचारीहरूमा उत्साह थपिनेछ ।
आईजीपी सिंहले नेपाल प्रहरी अस्पताल प्रहरी संगठनको अत्यन्त महत्वपूर्ण अंग भएकोले यसको गरिमा र साखलाई कायम राख्न आग्रह गरेका छन् ।
सौहार्दता र हार्दिकता कायम राख्दै आ–आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गर्न उनले निर्देशन दिएका छन् ।
विश्वमा भएका प्रविधिजन्य परिवर्तनलाई अंगालेर अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको उनले बताए ।
प्रहरी महानिरीक्षक सिंहले विभिन्न आरोह अवरोह, समस्या र कठिनाईहरूको सामना गर्दै विगत करिब ४० वर्षदेखि निरन्तर रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले कोभिड–१९ को संक्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताएका छन् ।
औषधिको गुणस्तर, पारदर्शी सेवा प्रवाहको साथै कमी कमजोरीमा सुधार गर्दै अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।
विद्यमान सेवाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा अस्पतालको दीर्घकालीन विकासको लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्न उनले निर्देशन दिएका छन् ।
अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई पालना गर्दै काम गर्न प्रतिवद्ध रहेको बताएकी छिन् ।
डा.सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा विरामीमैत्री सेवा प्रदान गर्न सदैव तत्पर रहेको बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया