कांग्रेसबाट जितेका बुटवलका मेयरको कार्यले सफाइ कर्मचारीहरू खुसी
बुटवल । बुटवल उप–महानगरपालिकाका मेयर खेलराज पाण्डेले सफाइका कर्मचारीहरूसँग सहभोज आयोजना गरेका छन् ।
आइतबार पाण्डेयले सफाइका मजदुरसंग सहभोज गरेर १५औं गणतन्त्र दिवस मनाएका हुन् ।
सफाइ मजदुरसँग सहभोज गरेर नेपाली कांग्रेसका नेता समेत रहेका मेयर पाण्डेले बुटवल उप–महानगरको सरसफाइमा गम्भीर रहेको सन्देश दिएका छन् ।
मजदुर वर्गलाई पनि गणतन्त्र दिवसको अनुभूति होस् भनेर आफूले सहभोजको कार्यक्रम आयोजना गरेको मेयर पाण्डेयले बताएका छन् ।
उनले भने, ‘गणतन्त्र दिवसमा सफाइकर्मी मजदुरसंग सहभोज गरौं भन्ने लाग्यो र उप–मेयरसंग प्रस्ताव राखें, उहाँले एकदमै राम्रो भन्नुभयो ।’
‘देशमा गणतन्त्र आएको श्रमजीवी वर्गले पनि अनुभूति गर्न पाउनुपर्छ, उहाँहरू हेपिएको महसुस नहोस् भनेर हामीले सहभोजको कार्यक्रम राखेका हौँ’, पाण्डेले भनेका छन् ।
नगरलाई सफा र स्वच्छ राख्न सफाइकर्मी मजदुरको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरूलाई खुशी बनाउन सके मात्रै नगर सफा र स्वच्छ हुने पाण्डेले बताएका छन् ।
उनले आगामी नीति तथा कार्यक्रम र वजेटमा सफाइकर्मी मजदुरको तलब भत्ता बृद्धिलाई प्राथमिकतामा राखिने बताए ।
उप–मेयर सावित्रा अर्यालले मुलुकमा गणतन्त्र ल्याउन मजदुर वर्गको ठूलो योगदान रहेको बताइन् । उनले मजदुर वर्गलाई पनि गणतन्त्रको अनुभूति गराउन सहभोज आयोजना गरिएको बताइन् ।
सरसफाइकर्मी मजदुर जितबहादुर दर्जीले यसअघिका मेयर शिवराज सुवेदीले आफूहरूलाई बेवास्ता गरेको र नमस्कार पनि नफर्काएको गुनासो गरे ।
नयाँ मेयर आएपछि पहिलोपटक आफूहरूलाई सम्मान दिएको भन्दै दर्जीले खुशी व्यक्त गरेका छन् ।
‘अहिले विरोध गरेजस्तो होला, तर यसअघिका मेयर शिवराज सुवेदीले हामीलाई पटक्कै वास्ता गर्नुभएन, नमस्कार गर्दा पनि फर्काउनुभएन’, दर्जीले भने, ‘अहिलेका मेयर आएपछि हामी एकदमै खुशी छौं, अब हाम्रा समस्या गुनासा सुन्नुहुन्छ भन्ने विश्वास छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया