उत्पात मच्चाउँदा प्रहरी वरिष्ठ नायव निरीक्षक भट्ट निलम्बनमा परे

काठमाडौं । ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन भएका छन् ।

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका ७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको भन्दै निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टि हुन आएकोले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम भट्ट उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णयानुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

भट्टले कर्मचारी र प्रहरीलाई कुटपिट गरेका थिए । उनले स्थानीयलाई पनि कुटपिट गरेका थिए ।

Published : Thursday, 2022 May 12, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया